काठमाडौं, १३ जेठ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी ओलीले पराजय भएको झोकमा तीन घण्टा नबोलेको बताए ।
हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बास्कोटाले भने, “नेकपा एमाले कहिल्यै आक्रोशित हुँदैन । हिजो संसद्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तथ्यगत रुपमा सरकारको जवाफ माग्नुभएको छ । कुनै आग्रह वा पूर्वाग्रह राखेर बोल्नुभएको छैन । सरकारले हामीले उठाएका गम्भीर प्रश्नको जवाफ दिनुपर्छ ।”
स्थानीय तहको निर्वाचनमा एमालेको जनमत नघटेको दाबी पनि उनले गरे । बास्कोटाले थपे, “५ दल एकातिर, एमाले एक्लै लड्दा स्थानीय तहको निर्वाचनमा एमाले ९० सिट कम भएको छ । एमालेले आम रुपमा कसैसँग गठबन्धन गरेको होइन । हाम्रो जनमत यथावतै छ ।”
उपेन्द्र यादवसँग केपी ओलीको के कुरा भएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता बास्कोटाले भने, “हामी कसैसित संवाद गर्ने कुरालाई अस्वीकार गर्दैनौं तर मेरी बास्सै मेरो बास उठ्यो भनेर रोनाधोना पनि गर्दैनौं । नेकपा एकीकृत समाजवादीले आफू जित्ने हो कि अरुलाई हराउने हो ? एमाले दिउँसै बत्ती बालेर खोज्ने बनाउँछु भन्नेलाई गुलुप पठाउने कि ब्याट्री पठाउने ? हामी धुप हालेर हिँड्दैनौं । कुरा गर्ने, नगर्ने उहाँहरुको च्वाइसको कुरा हो । एमाले चिहान र खरानीबाट पनि उठ्ने फिनिक्स पक्षी हो ।”