Logo

तिलोत्तमा नगरपालिकामा कांग्रेसका खाण विजयी



काठमाडौँ,१३ जेठ । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत रुपन्देहीका सबै पालिकाको मतगणना सम्पन्न भएको छ ।

जिल्लाका १६ पालिकामध्ये पछिल्लोपटक आज सार्वजनिक भएको मतगणना परिणामअनुसार तिलोत्तमा नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन्। उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मोहन चापागाईँले २३ हजार ६३१ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा एमालेकी जागेश्वरदेवी चौधरी निर्वाचित भएका छन् । उनले २३ हजार ८६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रकी हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरेका छन् ।

नगरपालिकाका १७ वडामध्ये कांग्रेस नौ मा र एमाले आठ वडामा विजयी भएको छ । नवनिर्वाचित प्रमुख खाणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मतपरिणाम सार्वजनिकलगत्तै पत्रकारसँग कुराकानी गर्दै उनले सबैलाई मिलाएर काम गर्ने बताए ।

रुपन्देहीमा कांग्रेसले बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा जित हासिल गरेको छ । एमालेले देवदह नगरपालिकामा जित हासिल गरेको छ ।

यस्तै जिल्लाका १० गाउपालिकामध्ये कांग्रेसले शुद्धोधन, कञ्चन, मायादेवी र सम्मरीमाई गाउपालिकामा जित हासिल गरेको छ । एमालेले गैडहवा र ओमसतिया गाउँपालिकामा जित हासिल गरेको छ । कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, मर्चवारीमा जनता प्रगतिशील पार्टी र रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्