काठमाडौं, १४ जेठ । काठमाडौं उपत्यकाका तीन जिल्लाका पालिकामा नेपाली काँग्रेसले शक्ति बढाएको छ । स्थानीय तहको चुनावमा काँग्रेसले तीनवटै जिल्लामा बढी पालिका जित्न सकेको छ ।
काठमाडौंमा ११ पालिकामध्ये नेपाली काँग्रेसले ७, नेकपा एमालेले २, राप्रपाले १ र स्वतन्त्रले १ पालिका जितेका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह जितेका छन् । तर, ३२ वडामध्ये काँग्रेसले १९ वडा जितेर नगर सभामा बहुमतको अवस्था बनाएको छ ।
टोखा र बूढानिलकण्ठमा मात्र एमालेले जितेको छ । शंकरापुरामा राप्रपा जितेको छ ।
ललितपुरमा पनि काँग्रेस बलियो बनेको छ । ललितपुर महानगरपालिकासहित ४ पालिकामा काँग्रेसको मेयर तथा अध्यक्ष जितेका छन् । ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जन मेयरमा दोहोरिएका छन् । गोदावरीमा पनि काँग्रेसले मेयर जितेको छ । महाँकाल र बागमती गाउँपालिकामा काँग्रेस जितेको छ ।
नेकपा एमालेले महालक्ष्मी नगरपालिका र कोञ्ज्योसम गाउँपालिका जितेको छ । एमालेले विगतमा जितेका पालिकाहरुका धेरै वडा गुमाएको छ । गोदावरीमा एमालेका भाष्कर थापा मात्र वडाध्यक्ष जित्न सफल भए । महालक्ष्मीमा पनि एमालेले विगतमा जितेका ३ वडा गुमाएको छ ।
भक्तपुरमा पनि एमालेको शक्ति घटेको छ । एमालेले मध्यपुर ठिमी नगरपालिका गुमाएको छ । भक्तपुर नगरपालिका नेमकिपाले क्लिन स्वीप नै गरेको छ । सूर्यविनायक नगरपालिका मात्र एमालेले जितेको छ ।
उपत्यकामा २०७४ को चुनावमा एमाले बलियो थियो । काठमाडौं महानगरपालिकासहित उपत्यकाका महत्वपूर्ण नगरपालिकाहरुमा एमालेको मेयर थिए । यसपटक उसको शक्ति निकै घटेको छ ।