Logo

कांग्रेस अर्काको गुँडमा चल्ला पार्न माहिर पार्टी होः एमाले उपमहासचिव



काठमाडौं, १४ जेठ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टी अध्यक्ष केपी ओलीले कांग्रेसलाई दुख्ने ठाउँमा प्रहार गरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिमालले भने, “एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा बहस गर्नुभएको हो । मुखाले कुण्ठा पोख्नुभएको होइन । चुनावको मुखमा अलि धेरै गुड्डी हाँक्नु ठीक हुँदैन भन्नुभएको हो । इन्धनको मूल्यवृद्धिमा आयल निगमलाई टाट पल्टाएर निजीकरण गर्ने उद्देश्य छ भन्नुभएको हो । त्यसबाट उद्योगमन्त्री तिलमिलाउनुभएको हो । आयल निगम डुबाउन पैसा खाएको होइन भन्ने प्रमाणित गरे भइहाल्यो नि । ओलीले कांग्रेसलाई दुख्ने ठाउँमा प्रहार गर्नुभएछ । चुनाव खर्च उठाएको हो कि होइन ? हामीले व्यक्ति होइन, प्रणालीको कुरा गरेका हौं । यसमा ज्वरो आउने किन ?”
कांग्रेसले केपी शर्मा ओलीबाट सरकारको प्रशंसाको गीत खोजेको आरोप पनि लगाए । उनले भने, “तीन घण्टा त के ६ घण्टा पनि बोल्न मिल्छ बोल्न सक्नेले । कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो बोल्नुहुन्न, एमालेले पनि त्यसै गर्नुपर्छ र ? कांग्रेसको प्रशंसाको गीत गाइदिए उच्च स्तरको हुने, गडबडी औंल्याइदिए निम्न स्तरको हुने हो र ? कांग्रेस भनेको अर्काको गुँडमा चल्ला पार्न माहिर पार्टी हो । कांग्रेस नेताहरुको रणनीति र कार्यनीति नै ओलीलाई गालीगलौज गरेर चर्चामा आउने मात्र छ ।”
बजेटमार्फत सत्ता कब्जा गर्ने कुरा दिवास्वप्न भएको पनि उनले बताए । रिमालले थपे, “चुनावलाई लक्ष्य गरेर ल्याएको कुरा फुटानी हो । सरकारी ढुकुटीमा पैसा छैन । विदेशी मुद्रा सञ्चिति छैन । ६ महिनामा संसार जोड्छु र सत्ता कब्जा गर्छु भन्नु दिवास्वप्न हो ।”
गठबन्धन गर्दा पनि एमाले एक नम्बर पार्टी नै भएको उनले बताए । उनले थपे, “जति तमासा गर्दा पनि कांग्रेसको लोकप्रिय मत एक प्रतिशत बढी आएको छ । त्यो पनि गठबन्धनलाई एउटा पार्टी मान्ने कि नमान्ने ? ३२८ मा कांग्रेस एक्लै लडेको थियो ? ५४ सिट त गठबन्धन गरेर पाएको हो । त्यस अर्थममा नम्बर १ पार्टी एमाले नै हो । हामीले गरेको भनेको गठबन्धन होइन, तालमेल हो ।”
अब माधव नेपालसँग तपाईंहरुको सहकार्य होला भन्ने पत्रकार धमलाको प्रश्न्मा एमाले उपमहासचिव रिमालले भने, “तपाईंको प्रश्न सान्दर्भिक भएन । गठबन्धनबाट माधव नेपालजी अस्तित्व जोगियो भनेर खुसी हुनुहोला । अहिले जनताबाट चिनिएर आउनुभयो । माओवादी केन्द्रको १५ सिट बढेको छ । मुलुकको टावरिङ लिडर भएकाले गठबन्धन दलका नेताहरु ओलीलाई भेटेका होलान् । यसैकारण गठबन्धन टुटाउन खोजेको आरोप लगाउन मिल्दैन । हामीलाई त्यस्तो गर्नु आवश्यक पनि छैन ।”



प्रतिक्रिया दिनुहोस्