Logo

पृथ्वी सुब्बा गुरुङसँग भेट नभएको वर्षौं भयो, एमालेमा अन्तर्घात ‘फेस सेभिङ’का लागि गरिएको प्रायोजित प्रचार होः पोखराका मेयर



काठमाडौं, १४ जेठ । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले नेकपा एमालेले आफ्नो हारलाई प्रायोजित प्रचार गरिरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर आचार्यले भने, “म पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थिएँ, अब पोखराको साझा मेयर भएको छु । पोखराको समस्या पहिचान गरेर अघि बढ्ने सन्दर्भमा व्यक्ति, एजेन्डा, सम्भावना र आवश्यकता हेरेर सम्पूर्ण पोखराबासीको सद्भाव मलाई रह्यो । जहाँसम्म नेकपा एमालेको एमाले नेतृत्वको समर्थनमा जितेको कुरा छ, त्यो फेस सेभिङका लागि गरिएको प्रायोजित प्रचार हो । पृथ्वी सुब्बा गुरुङसँग भेट नभएको वर्षौं भयो । फोनमा पनि कुरा भएको छैन ।”
समृद्ध पोखरा र सभ्य पोखराबासी बनाउने आफ्नो उद्देश्य रहेको मेयर आचार्यले बताए । उनले भने, “गठबन्धनको घोषणापत्र, उपमेयर र वडाध्यक्षको प्रतिबद्धतालाई पाँच वर्षमा पूरा गर्ने गरी हामी काम गर्छौं । समृद्ध पोखरा अनि सन्तुष्ट र सभ्य पोखराबासी बनाउने अभियानमा हामी सरकार मात्र नभएर निजी क्षेत्र, नागरिक समाजसँग सहकार्य गर्छौं ।”
आफूलाई अबिरजात्रा गर्ने समय नभएको पनि उनले बताए । मेयर आचार्यले भने, “प्राकृतिक रुपमा पोखरा हामीले बनाएको होइन । हामीले बिगारिरहेको बारेमा जताततै चिन्ता र चासो छ । किनभने पोखरा दोहोर्याएर आउने सहर हो । यहाँ २९ पटकसम्म आएको बताउने पर्यटक भेटिन्छन् । हामीले बनाउन खोजेको हरेक चोटि नयाँपन देखिने सहर हो । त्यसैले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छौं । हामी पोखराको पहिचान जोगाउँछौं । ६ महिनापछि खाल्डाखुल्डीका समस्या आउँदैन । खानेपानीको समस्या हुन दिँदैनौं । ढल र नालीको व्यवस्थापन गर्छौं । तपाईंले एक वर्षपछि पोखरा आउँदा ट्राफिक समस्या देख्नुहुने छैन ।”



प्रतिक्रिया दिनुहोस्