काठमाडौं, १५ जेठ । भोलिदेखि हुने कक्षा १२ को परीक्षाको सबै तयारी पुरा भएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षाको सम्पुर्ण तयारी पुरा गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
भोलिबाट सुरु भएर जेठ २५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षामा करीब ४ लाख १५ परीक्षार्थी सहभागी हुने र १२ सय ९२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।
देशका सबै जिल्लामा भएका परीक्षा केन्द्रमा परीक्षा सुरु हुनु आधा घण्टा अगाडी अनलाइनबाट प्रश्नपत्र पठाउने र प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछन् ।
यसैबीच कक्षा ११ को परीक्षा पनि सोमबारदेखि नै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने भएका हुन् ।