काठमाडौं, १५ जेठ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले नेपाली जनताका स्वतन्त्रता र लोकतान्त्रिक अधिकारहरु खोस्न केही शक्ति सल्बलाउन लागेको बताएका छन् ।
१५औं संघिय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देशमार्फत गुरुङले स्वतन्त्रता र लोकतान्त्रिक अधिकारहरु खोस्ने निरङ्कुशताका अवशेषहरु पूर्ण रुपमा समाप्त गर्ने शक्ति, आट र क्षमता सम्पुर्ण नेपालीलाई प्राप्त हुने अपेक्षा राखेका छन् ।
गुरुङको सन्देशमा भनिएको छ,‘ नेपाली जनताको लामो संघर्ष, त्याग, तपश्या र बलिदानबाट २४० वर्ष निरङ्कुश राजतन्त्रको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आज १४ वर्ष पुरा गरी १५ वर्ष आरम्भ भएको छ । लाखौँ लाख नेपाल आमाका सपुत सन्तानहरुले गणतन्त्र स्थापनाको लामो लडाईमा निकै दुःख कष्ट भोग्नुका साथै शाहदत समेत हुन पुगेको सत्य ईतिहास हाम्रो सामु ताजै छ ।’
गुरुङले लोकतन्त्रको मूल भूत मान्यताले मात्र शान्ति र समृद्धिको मार्ग खुल्ने हुनाले सम्पूर्णलाई लोकतान्त्रिक विचार र आर्दशबाट विचलित नहुन आग्रह गरेका छन् ।
‘गणतन्त्र दिवसको पावन दिनमा नेपाली जनताका स्वतन्त्रता र लोकतान्त्रिक अधिकारहरु खोस्न सल्बलाउन लागेका निरङ्कुशताका अवशेषहरु पूर्ण रुपमा समाप्त गर्ने शक्ति, आट र क्षमता प्राप्त होस र सम्पूर्ण नेपालीहरु लेकतन्त्रको उर्वर जगमा सुखी र समृद्ध हुन एक भएर लाग्ने प्रेरणा प्राप्त होस आजको दिनमा सम्पूर्ण नेपालीहरुमा यही शुभकामना ।’ –उनले शुभकामना सन्देशमा लेखेका छन् ।