Logo

“बजेटको मनसाय असल तर कार्यान्वयन कठिन”



काठमाडौं, १६ जेठ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले नयाँ बजेटको मनसाय असल भए पनि कार्यान्वयन कठिन भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. अधिकारीले भने, “बजेटको मनसाय अत्यन्त राम्रो छ । सबै क्षेत्रलाई समेट्न खोजेको छ । बजेटका उद्देश्य, कार्यक्रम र प्राथमिकता तोकिएको छ । अर्थतन्त्रको जोखिम नियन्त्रण गर्न खोजेको छ । तर जुन आकारको बजेट आयो, रकम विनियोजन भयो र राजस्वका स्रोतको आकलन गरियो, ती कुरा पूरा गर्नु निकै चुनौतीपूर्ण छ ।”
नेपालमा हरेक सरकारले पपुलिस्ट बजेट ल्याउन खोज्दा समस्या आउने गरेको उनले औंल्याए । डा. अधिकारीले भने, “बजेट एउटा आवश्यकतामा आधारित हुन्छ । तर हामीकहाँ हरेक सरकारले पपुलिस्ट बजेट ल्याउँछन् । खासगरी निर्वाचनको अगाडि आएको बजेटमा पपुलिस्ट चरित्र देखिन्छ । अहिले १८ खर्बको बजेट आयो । तर हाम्रो खर्च क्षमता त्यति छैन । त्यसको स्रोत जुटाउन सजिलो पनि छैन । यसले ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन छ ।”
विश्व अर्थतन्त्रका चालक मुलुक नै अनिश्चिततामा फसेकाले नेपालले मात्र चमत्कार गर्न नसक्ने डा. अधिकारीको टिप्पणी छ । उनले भने, “पुँजीगत खर्च नहुने, आन्तरिक ऋण धेरै उठाउने बजेट आएपछि मूल्यवृद्धिलाई नियन्त्रणमा राख्न कठिन छ । मूल्य बढ्छ, बढ्छ । मूल्यवृद्धि बाह्य कारण जबर्जस्त छ । पछिल्लो समय बेलाइतले नै भोकमरी आउने र १३ लाख मानिस गरिबीको रेखामुनि जाने भनिसक्यो । त्यहाँ ४० वर्षमा नभएको मूल्यवृद्धि भएको छ । अमेरिकामा ८ प्रतिशत मूल्यवृद्धि भएको छ । चीन मात्र अरुभन्दा अलिकति सन्तुलित छ । विश्व अर्थतन्त्रका चालकको हामीलाई प्रभाव पर्छ नै । कर छुट भनेका छौं, १२ खर्ब राजस्व उठाउँछौं भनेका छौं । बैंकसँग लगानीयोग्य पुँजी नै छैन । वैदेशिक सहायता आउन गाह्रो छ । अब हामीले चमत्कार के गर्न सकौंला ?”



प्रतिक्रिया दिनुहोस्