Logo

तारा एयरको विमानको छानबिन गर्न ५ सदस्यीय आयोग गठन



काठमाडौं, १६ जेठ । आइतबार भएको तारा एयरको जहाज दुर्घटनाको बारेमा सत्यतथ्य घटना पत्ता लगाउन सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको हो । त्यस्तै, क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने आयोगको सदस्य रहेका छन् ।

मन्त्रालयले समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने समेत निर्देशन दिएकोे छ ।

आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा २२ जना यात्रुको सबैको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्