Logo

बालेन मेयर भएपछिको काठमाडौं महानगरपालिकाको पहिलो सभामै चर्काचर्की



काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्रका बालेन साह मेयर भएपछि बसेको नगरसभामा चर्काचर्की भएको छ । सभामा बालेन साहले फोहोरमैला व्यवस्थापन, शौचालको व्यवस्था, वडाहरुमा सरसफाईलगायतका बुँदा राखेपछि प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले भोलि नै तीन दलबाट प्रतिनिधिसहितको बैठक डाकेर काम अगाडि बढाउने भनेपछि चर्काचर्की भएको हो ।

पौडेलले बालेन साहले राखेको प्रस्तावपछि नगर सभाले पहिलो बैठकमै प्रस्तावहरु पारित भएको जसरी प्रस्तुती गरेपछि नेपाली काँग्रेसबाट निर्वाचन वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले प्रश्न गरेका थिए । उनले नगरसभाको पद्धति र प्रणाली बुझ्न भन्दै कडा रुपमा प्रस्तुती गरे ।
रिजाल बोलिरहँदा कतिपय वडाध्यक्षले नगर सभाबाट अध्ययन गरेर आउन बालेनलाई भनेका थिए । यस क्रममा होहल्ला र चर्काचर्की भएको थियो ।

नगरसभाको पहिलो बैठकमै सबै बुँदा पारित नभई प्रस्ताव मात्र हो भनी बालेन बोले । उनले छलफल गर्न सकिने बताएर कुन कुन बुँदा पारित गर्न सकिन्छ ? भनी प्रश्न गरेका थिए । त्यसपछि पनि केहीबेर चर्काचर्की भएको थियो ।

काठमाडौं महानगरपालिकामा काँग्रेसले बढी वडाध्यक्ष र सदस्यहरु जितेको छ । नगरसभामा काँग्रेस बहुमतमा रहेको छ भने एमालेको दोस्रो र नेकपा एकीकृत समाजवादीको तेस्रो बढी प्रतिनिधित्व छ । बालेनले काँग्रेसका निर्वाचित वडाध्यक्ष र सदस्यहरुको साथ नपाए काम गर्न चुनौती हुनसक्छ । आज पहिलो बैठकमै काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नै बालेनको प्रस्तावमाथि चुनौती दिएका छन् । उनीहरुले प्रक्रिया र शैलीमाथि प्रश्न उठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot