Logo

बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियो तारा एयर



काठमाडौं, जेठ १७ । पोखराबाट उडान भरेको तारा एयरको विमान १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। विमानको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको थियो, त्यसपछि विमानबारे पत्तो लागेको थिएन। ताराको विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए।

जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाइमा रहेको घिमिरेले बताएका थिए। जोमसोम विमानस्थल ९ हजार फिट उचाइमा छ। तर, हावाको विवरण दिएलगत्तै सम्पर्कविहीन भएको विमान झन् बढी उचाइमा पुगेर चट्टानमा बजारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको भनाइ छ। ताराको यो विमानभन्दा तीन मिनेटअगाडि यही रुटमा समिट एयरको विमान थियो। समिटको विमान पोखराबाट ९ बजेर ५२ मिनेटमा उडेको थियो, ताराको ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

को–पाइटल उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए। पोखरा टावरले जोमसोम टावरलाई विमान हस्तान्तरण गरेपछि लेतेको आकाशबाट एकपटक सम्पर्क गरेर विमान जोमसोम भ्याली छिरेको बताएर सम्पर्कविहीन भएको थियो। विमान सम्पर्कविहीन भएपछि जोमसोम विमानस्थलले पोखरालाई जानकारी गराएको थियो। सोमबार बिहान विमान फेला पारेलगत्तै स्थानीयले उद्धार सुरु गरेका थिए।

उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनका अनुसार अप्ठ्यारो ठाउँमा दुर्घटनामा भएकाले उद्धारमा समस्या भएको हो। ‘कतिपय शव खोंचमा रहेकाले उद्धारमा कठिनाइ भयो। अप्ठ्यारो ठाउँमा दुर्घटनामा परेको र बेलाबेलाको मौसम परिवर्तनले उद्धारमा असहज भयो,’ उनले भने। उनका अनुसार घटनास्थल यतिसम्म अप्ठ्यारो छ कि डोरी लगाएर झुन्डिएर मात्र उद्धार गर्न र शव निकाल्न सकिन्छ।’

अप्ठ्यारो ठाउँ भएकाले पनि उद्धारमा समय लागेको उनले बताए। उनका अनुसार घटनास्थलको सबैभन्दा नजिकको गाउँ कोवाङ हो। जहाँको बस्तीसम्म पुग्न कम्तीमा ५ घण्टा पैदल हिँड्नुपर्छ। ‘डोरीमा झुन्डिएर खोजी गर्दा समय लागेको हो।

दुर्घटनामा परेको विमान सुरुमा भेडी गोठालाले भेटेका थिए। त्यसपछि उनीहरूले फोटो खिचेर प्रहरी र स्थानीयलाई खबर गरेका थिए। उद्धारकर्ताका अनुसार विमानमा आगो लागेको थिएन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot