काठमाडौं, १७ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले चुनावी वर्ष ८ प्रतिशत आर्थिक वृद्धिदर सम्भव नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व गभर्नर डा. नेपालले भने, “नेपालमा कुनै पनि सरकारले नराम्रो बजेट ल्याएका छैनन् । समस्या चाहिँ खर्च नगर्ने प्रवृत्ति हो । २५ प्रतिशत काम भयो भने पनि ठूलो कुरा हुन्छ । यो त झन् चुनावी र्ष हो । प्रदेश र संघको दुइटा चुनाव छ । कर्मचारीको तलब बढेको छ । वृद्धभत्ता ६८ वर्षमा झरेको छ । चुनावी वर्ष अर्थतन्त्र चलायमान त हुन्छ । तर कतिपय काम हुन सक्दैनन् । युक्रेन र रसियाको युद्ध अनि तलब र वृद्धभत्ता वृद्धिले ८ प्रतिशत आर्थिक वृद्धिदर सम्भव नै छैन ।”
बजेटको सबैभन्दा चुनौती स्रोत जुटाउनु रहेको पनि उनले औंल्याए । डा. नेपालले भने, “बजेट झन्डै १८ खर्ब ठूलो छ । विनियोजित रकम छरिएर आएको छ । अहिलेसम्म ११, १२ खर्बभन्दा बढीको बजेट खर्च गर्न सकिएको छैन । बजेट जनतालाई आशा जगाउने कुरा पनि हो । यसो भन्दैमा बजेटको स्रोतमा विचार गर्नुपर्ने चुनौती छ ।”
नेपालको अर्थतन्त्र आयातमुखी राजस्वमा निर्भर भएकाले विद्युतीय सवारी साधनमा कर बढेको हुन सक्ने उनको विश्लेषण छ । उनले भने, “श्रीलंकामा सन् २०१८ देखि नै सवारी साधन किन्न रोक छ । नेपालमा ४० लाख गाडी बाटोले धान्न सक्ने अवस्था पनि छैन । विदेशी मुद्रा सञ्चितिमा चाप परेको छ । त्यसैले कतिपय वस्तुको आयातमा कडाई गर्नुपरेको छ । तर हाम्रो अर्थतन्त्र आयातको राजस्वमा निर्भर छ । विद्युतीय सवारी साधनमा कर बढेको हुन सक्छ ।”