काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा गठबन्धनले लय समातेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता डा. महतले भने, “स्थानीय तहको निर्वाचन राष्ट्रिय निर्वाचनभन्दा फरक हो । वडा तहसम्म गठबन्धनलाई लिएर जानु सजिलो थिएन । तर गठबन्धन समग्रमा लयमै गयो । कतिपय ठाउँमा समस्या पनि आए । उम्मेदवार चयन नमिल्दा प्राविधिक रुपमा धेरै मत बदर भए ।”
कांग्रेस प्रवक्ता डा. महतले आफ्नो पार्टीलाई गठबन्धन दलहरुले धोका दिएको आरोप लगाउन नमिल्ने बताए । उनले भने, “गठबन्धन दलहरुलाई नेपाली कांग्रेसबाट मात्र मत गएन भन्ने कुरा सत्य होइन । कतिपय ठाउँमा गठबन्धन दलहरुले कांग्रेसलाई नसघाएको अवस्था पनि छ । जस्तोः बुटवल लामो समयदेखि एमालेको कब्जा थियो । हामीले मेयरमा उम्मेदवार बनाएका नेताले पपुलर मत पाउनुभयो, उपमेयरले पाएनन् । पोखरामा एकीकृत समाजवादीले मेयरमा उठाएका व्यक्ति अनुभवी हुुनुहुन्थ्यो । मेयरले जित्यो, हाम्रो उपमेयरले जित्नुभएन । हेटौंडामा कांग्रेसको सर्लक्कै गएर जितेको होइन ? त्यसैले पार्टी सयंन्त्रले असहयोग गरेको भए पो धोका हुन्छ । आम जनताको मतमा पार्टीको सम्पूर्ण नियन्त्रण हुँदैन । जनताले स्वमूल्यांकन गरेर मत हाल्छन् । हामीले जे आदेश गर्यो, त्यही हुन्छ भन्नु उचित होइन ।”
स्थानीय तहको कार्यपालिका र जिल्ला समन्वय समितिमा माओवादी केन्द्रले नेकपा एमालेसँग तालमेल गरेकामा पनि डा. महतले आपत्ति जनाए । उनले भने, “धेरै ठाउँमा हामीले भन्दाभन्दै पनि माओवादी केन्द्र र एमालेले तालमेल गरेका छन् । जे केन्द्रमा समझदारी भएको छ, त्यही अनुसार जानुपर्छ भन्ने हाम्रो भनाइ हो । गठबन्धनको बैठकले निर्णय गरेपछि त्यो लागू हुनुपर्छ ।”
बजेटमा विद्युतीय सवारीमा कर लगाएको आफूलाई चित्त नबुझेको पनि उनले औंल्याए । डा. महतले भने, “बजेटमा हरेक चिज राम्रै राम्रो भयो, म भन्न चाहन्न । बजेटले ऊर्जामा आत्मनिर्भर हुने र स्वदेशी ऊर्जालाई प्रोत्साहन गर्ने भनेको छ । तर विद्युतीय सवारी साधनमा कर लगाएको मलाई चित्त बुझेको छैन । विद्युतीय सवारीलाई कम करको व्यवस्था गर्नुपर्छ । त्यसो गर्दा राजस्व कम हुन्छ भन्नु उचित होइन ।”