काठमाडौं, १७ जेठ । केही दिनदेखि हलमा राम्रो व्यापार गरिरहेको फिल्म ‘कबड्डी ४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ ।
मगरले निर्दोष युवकलाई फसाउन खोजेको भन्दै चुच्चेपाटीको केएल टावर अगाडी युवाहरुले फिल्मको पोस्टर पनि जलाएका हुन् ।
प्रदर्शनमा उत्रेका युवाहरुले बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र मिरुनाले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरुले कबड्डी ४ फिल्मपनि बहिस्कार गर्ने समेत चेतावनी दिएका छन् ।
आइतबार नायिकाले आफुलाई सिभिल मलबाट बाहिर निस्कने क्रममा तामाङ थरका एक युवकले पिठ्युमा छोएको आरोप लगाउँदै प्रहरीलाई बुझाएकी थिइन् ।
सोमबार युवकविरुद्ध उजुरी दर्ता गरेपछि जिल्ला प्रसाशन कार्यालयले म्याद समेत थप गरेको छ । तर चौतर्फी आलोचना भएपछि प्रहरीको हिरासतमा रहेका युवकलाई छाड्ने तयारी भइरहेको बुझिएको छ ।