प्रिय तिर्थजी
नगरप्रमुख, दिरूम नपा खोटाङ ।
तिर्थजी तपाईंको जित र खुशियालीमा सारा खोटाङे कांग्रेसजन जो सत्य, न्याय निष्ठामा बसेर कांग्रेसको पवित्र चारतारे झण्डालाई सग्लो र अर्धसग्लो शरिरभित्रको पवित्र आत्मासँग जोडी तपाईंलाई विजयी गराएका छन् । वीर पुर्खाहरूको अनवरत त्याग, वलिदान र संघर्षले चार तारे झण्डालाई जनताको आत्माको उचाईमा पुर्याई कांग्रेसको विचार, आस्था र विश्वासको घेराभित्र राखी पवित्र चुनाव चिन्ह रूखमा मतदान (आत्मादान) गरी निर्वाचित गराएका छन्, यो जितको लागि कदम कदममा पल–पल झरी र बादल नभनि भोकभोकै खट्ने योद्वाहरूको आशालाई पुरा गर्नु तपाईंको राजनीतिक कर्तव्य बन्नुपर्छ ।
मलाई याद छ–२०७९ बैशाख १२ (दिक्तेल बजार भवन गैर्रादेखी जिल्ला अदालतसम्मको दृष्य) जुन दिन यो जिम्मेवारी प्राप्त गराउनका लागी तपाई एक्लै लडिरहनुभएको थिएन सारा दिरूमका जनता तपाईका लागी अर्न्तरहृदयदेखी चर्को घाममा भिरालो (नमिल्दो) जमिनमा उत्साहका साथ लडिरहेका थिए। त्यहाँ उनीहरूलाई कसैले खान दिएर वा लोभलालचको भोजन पान गराएर वा काल्पनिक भविष्य देखाएर खरिद–विक्री गरेर ल्याएका नव उन्मादका हुङ्कार थिएनन् तिनिहरू, थिए त केवल सत्य, न्याय निश्पक्षता र लोकतन्त्रको पक्षमा उर्लिएको भावनाको बेजोड एक जनभेला थियो, त्यही भावनाको भेलको आवाजको गर्जनबाट प्राप्त जिम्मेवारीलाई तपाईंले कदापि खेलवाड गर्नु पाउनुहुने छैन र गर्नु हुनेछैन भन्ने विश्वास लिएको छु ।
यसैपनि जोगी जीवनबाट प्रभावित तपार्इंको सादगी जीवनले खोटाङको कांग्रेस राजनीतिमा हाम्रो पुस्ताको भन्दा केही वर्ष अगाडिको हो । खोटाङे जनताको विचमा जनअपेक्षाको उर्वाउँदो फुल भई अहिले खोटाङको राजनीतिको आशाको केन्द्र बन्नुभएको महशुस गरेको छु । म र मेरा केही परम मित्रहरू विभिन्न अवस्थाले सिर्जना गरेका परिस्थितिको घेराभन्दा बाहिर जान नसकेकाले राजनीतिमा केही पछी परेको महशुस गरी रहेको छन् ।
खैर, केही छैन । तपाईंको जित खोटाङे माटो, खोटाङे जनता र लोकतन्त्रको सुनिश्निचित् भविष्य निर्माण र दिरूमको भौतिक नवयुग निर्माणका लागि स्वर्णिम बनाउनुहुनेछ भन्ने विश्वास लिएको छु। यो जितसँगै सदरमुकाम दिक्तेलका जनताले समृद्ध समाज निर्माणको चाहानसँगै सग्लो आशाको पोको बाँधेर दिरूमका जनताले विश्वासका साथ तपाईलाई गरूङ्गो भारी बोकाएका छन् । सम्पुर्ण जनताको भावनाको संवेगलाई सुझबुझपुर्वक निर्वाह गरी जनताको आशालाई उचाईमा पुर्याई ’निमुखालाई न्याय र विपन्नलाई आय’ को लागि अहोरात्र खट्नु तपाईंको दायित्व बन्नुपर्छ ।
मानिस यसै पनि भौतिक विलासीसँगै भर्चुअल जिवनमा रमाउँदै गएको छ। फेशवुक, ट्यीटर, युट्युव, ईन्स्टाग्राम र ह्वाटसपजस्ता सामाजिक संजाल समाज परिवर्तनको माध्यमसँगै मानिसको जीवनका पाटा बन्दै गएका छन् । तर सामाजिक सञ्जाल प्रयोगकै कारण वर्षेनी १०औं अर्ब नेपाली रूपयाँ बाहिरी रहेको छ ।
हाम्रो भौतिक विलाषीपनको जीवनले उत्पादन र वितरणको असन्तुलन र उपभोगमा दैनिक अत्याधिक वृद्धिले देश चरम व्यापार घाटामा छ । हाम्रो वर्तमान अवस्था भनेको विदेशीले मोवाईल बनाउने, हाम्रा नौ जवानले पशिनासँगै घरका सदस्यलाई महङ्गा मोवाईल पठाउने अनि गाउँ छोडेर शहर पसेका नव शहरियाले टिक–टकका साथै फेशवुक भिडियो बनाउने र हामी सन्तानको पसिनाको पैशाले पठाएको महङ्गो मोवाईलमा पृत्तिक बारी बाँझो राखी टाट्नामा २ वटा बाख्राको पाठा पालेर किसानको पहिचान बनाउँदै दिनभर टिक–टक, फेशबुक, युट्युबमा र न्युज पोर्टलमा झुम्मिएर शिक्षित र साक्षर भएको महशुस गरेर गदगद् गर्ने ।
समाज वर्तमान अबस्थामा समवेदना विहिन छ । मानव भित्रका भावना र समवेदना मर्दै गएको छ । यस्तो अवस्थामा भुइँमान्छेलाई समृद्धि र सन्तुष्टिको लक्ष्मणरेखा भित्र राखी निराशाले भरिएर चाउरिएका मलिन अनुहारमा उज्यालो किरण छरी खेतका गर्हाजस्ता आवरण भएका जनताको अनुहारमा चम्किला धर्सासहितको उज्यालो मुस्कान ल्याउनु तपाईंको निशर्त कर्तव्य बन्नुपर्छ। गाउँ त मन र व्यवहारको सुगम नै हो ।तर के गर्नु गाउँलेका लागी उपचार गर्ने अस्पताल र सुनौलो भविष्य निर्माण गरिदिने आधुनिक स्कुल र कलेज नै पो नबनाई दिएर दुर्गम बनाईदिए । त्यसैले नागरिकले विश्वासका साथ दिएको पवित्र जिम्मेवारीलाई भौतिक विलासी र उत्तेजित भई लहडका भरमा अनुत्पादक र वितरणमुखी बन्ने छुट तपाईलाई छैन । यदी तपाईंमा अहंमताको पहाडले प्रवेश गरेर उन्माद आयो भने सबै कुरामा विचलन आउने पक्का छ ।
आवधिक निर्वाचन यउटा विधिवत् प्रकिृया हो । यो आउँछ जान्छ । निर्वाचनले कसैलाई प्रकिृयागत जिम्मेवारी दिन्छ, कसैलाई भावनात्मक जिम्मेवारी । अहिले तपाईले प्रकिृयागत जिम्मेवारी पाउनुभएको छ । । जिम्मेवारीलाई संस्थागत स्थायित्व बनाई जनताको भावानाको पुञ्ज बनाउनु तपाईको राजनीतिक जिम्मेवारी हो । महालेखा परिक्षण कार्यालयका अनुसार अहिले थामि नसक्नुको बेरूजु स्थानिय तहमा देखिएको छ, सँगै अधिकार दुरूपयोगको हिसावले सबैभन्दा बढी उजुरी अख्तियारमा स्थानिय तहको छ ।
२०३६ सालमा वहुदल र सुधारिएको पक्ष–विपक्षमा जनमतसंग्रह भयो । कांग्रेस पार्टी संस्थापक वीपी कोईरालाले एक दलीय पञ्चायती व्यवस्थाको विरूद्वमा पार्टीलाई जनमत संग्रहमा लानुभयो । पार्टीको पक्षमा जनमत परेन तरपनि वीपी निरास हुनु भएन । तत्कालीन राजा विरेन्द्रले दरवारमा बोलाएर वीपीलाई भन्नुभयो । जनता सुधारिएको पञ्चायतको पक्षमा नै रहेछन वीपी, त्यो परिणामले देखायो त्यै पनी आन्दोलनरत पक्षको नेताको रूपमा बुझ्न वीपीलाई बोलाएको हुँ । सुधारिएको पञ्चायतको बारेमा केही भन्नु छ ? वीपीले राजा विरेन्द्रलाई भन्नुभयो परिणाम पञ्चायतको पक्षमा रह्यो स्विकार गर्छौं । मौशुफले आफुअनुकुलको निर्णय गर्न सकिबक्सन्छ तर प्रत्येक निर्णय गर्दा प्रतिपक्षसँग ४६ प्रतिशत भन्दा बढी जनमत छ भनेर स्मरण गरे पुग्छ र मेरो एक गलत निर्णयका कारण यो जनमत कुनैपनि वेला ५१ प्रतिशत पुग्न सक्छ र मौशुफ निर्णय प्रकिृयाबाट बाहिनुपर्छ भन्ने हेक्का राखिदिए पुग्छ वीपीले राजालाई भन्नुभएको थियो । हामी त्यस्ता दुरद्रष्टा नेताका राजनीतिक चेला तपाईको एक गलत निर्णयले कुनैपनि वेला परिणाम पल्टन सक्छ ।
जनताले गाउँ–गाउँमा सिंहदरवार खोजेका छन्, जंङ्ग बहादुर हैन । त्यसैले नागरिकका सुख दुःखमा सहयोगी बन्नु, स्थानीय समस्या पहिचान गर्नु र समाधान खोज्नु, नागरिकको चाहना र भावनाको जानकारी लिनु र उनीहरूको जीवन पद्वतीका बारेमा चासो र चिन्ता लिनु असल नेतृत्वको उपज हो । त्यसैले शासक कहिल्यै घमण्डी देखिनुहुँदैन, जहिल्यै भद्र देखिनुपर्छ । शासक कहिल्यै अहङ्कारी देखिनुहुँदैन, जहिल्यै गुणकारी र परोपकारी देखिनुपर्छ र शासक कहिल्यै कायर देखिनुहुँदैन, जहिल्यै वीर भएर मर्यादापुरूष भगवान् ’राम’ जस्तो उभिनुपर्छ । ’रामराज्य’ निर्माण गरी जनतालाई यसको अनुभुत गराउनु पर्छ । दिरूमका जनताका लागी तपाईको भूमिका शासकको होइन, सेवकको होस । कार्यकाल सफलताका लागि हार्दिक शुभकामना ।
लेखक थापा नेपाली कांग्रेस खोटाङका पुर्व क्षेत्रिय सचिव हुन् ।