काठमाडौं, १८ जेठ । सिरहामा एक हप्ता अगाडी भएको बाबु छोराको हत्यामा सम्लग्न भएको आरोपमा ३ जना पक्राउ परेका छन् । हत्याको आरोपमा मृतकका बुहारी शान्तिदेवीसहित ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
शान्तिदेविसँगै पक्राउ पर्नेमा जनिफ मियाँ र बेचु पाल रहेका छन् । उनीहरुको साथबाट हत्यामा प्रयोग भएको खुकुरी र खुकुरी राखेको झोना र ४ थान मोवाइल समेत प्रहरीले बरामद गरेको छ ।
आफ्नै घरमा सुतिरहेको बेला जेठ ७ गते राति चन्द्रेश्वर पाल र उनका छोरा सन्तकुमारको धारिलो हतियारको प्रयोगले हत्या गरिएको थियो । सन्तकुमारको विवाह जेठ ११ गते तय भएको थियो । सन्तकुमारलाई दाइजो स्वरुप केटी पक्षले १ लाख नगद, ८ आना सुन र मोटरसाइकल दिने सहमति भएको थियो ।
यस भन्दा अघि ती युवतीको बेचु पालको छोरासँग विवाह गर्ने तयारी भएको थियो । तर एकाएक बेचुको छोरा विवाह गर्न नमानेपछि सन्तकुमारसँग विवाह हुन लागेको थियो । आफ्नो छोरासँग विवाह हुननसकेपछि बेचुसँग बिहे हुन लागेपछि उनीहरु बीच रिसिइबी बढेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
अर्कोतिर मृतकका साहिली बुहारी छोरा–छोरी लिएर गोलबजार बस्दै आएकी थिइन् ससुराले बुहारीलाई देवरको विवाहमा नआउनु भनेका थिए । उनी आफ्नै परिवारसँग रिसाएकी थिइन् । उनका श्रीमानले विदेश जाँदा श्रीमतीको ख्याल राख्न जिम्मा दिएका जनिफ मियाँपनि पक्राउ परेका छन् ।