काठमाडौँ,१८ जेठ । प्रदेश नं १ सरकारद्वारा विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्रका नागरिकलाई सहजरुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन आजदेखि निःशुल्क स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।
विराटनगर–१० स्थित पाँच बिघा क्षेत्रफलमा अवस्थित साविकको कोसी अस्पतालस्थित कोभिड–१९ उपचार केन्द्रमा सञ्चालनमा ल्याइएको उक्त केन्द्रमा बहिरङ्ग सेवा, औषधि, प्रयोगशाला, एक्सरेलगायतका सम्पूर्ण सुविधा नागरिकले निःशुल्क प्राप्त गर्ने जनाइएको छ ।
प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले अस्पतालको उद्घाटन गर्दै प्रदेशका नागरिकलाई सवल र सहजरुपमा स्वास्थ्य सेवामा पहुँच पु¥याउन केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले नागरिकको स्वास्थ्य सुरक्षाप्रति सरकार संवेदशील रहेको बताउँदै कोभिडका कारण स्वास्थ्य क्षेत्रमा प्रविधि र उपकरण व्यस्थापनमा प्रगति भएको बताए । उनले भने, “अब यसको सही र उचित प्रयोग गर्नुपर्छ ।”
मन्त्री यादवले केन्द्रमा उपलब्ध जनशक्तिले नागरिकको सेवामा दत्तचित्त भएर कार्य गर्न निर्देशन दिँदै केन्द्रमा स्वास्थ्यमैत्री वातावरण बनाउन सबैले आफ्नो क्षेत्रबाट जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव अनोज भट्टचनले केन्द्रमा उपलब्ध जनशक्तिको उचित व्यवस्थापन गरिने बताए । कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेलले केन्द्रमा विशिष्ट सेवा सहितको बहिरङ्ग सेवा सञ्चालन गर्न आवश्यक चिकित्सक सहितको जनशक्ति उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
केन्द्रका निमित्त संयोजक अनुपम राजवंशीले पाँच चिकित्सक, १८ स्टाफनर्सलगायत ५४ कर्मचारी कार्यरत रहेको जानकारी दिए । रासस