काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीमा पहिचानको सङ्कट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन् ।उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको उल्लेख गरे ।
जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागको पनि आफूले बुझेको प्रचण्ड बताउँछन् । तर, माओवादी उन्नत विचारको पक्षपोषण गर्ने दल भएको बताए । समाजवादी क्रान्तिको तयारी गर्ने उन्नत र सुसंस्कृत मानिसको कुरा गर्ने दल पनि माओवादी भएको तर आज त्यस्तो नभएको जनताले सोचेको बताए ।
‘हामी उन्नत विचारको पक्षपोषण गर्छौं । समाजवादी क्रान्तिको तयारीको गर्छौं । उन्नत र सुसंस्कृत मानिसको कुरा गर्छौं । तर, हिजो हामी जनयुद्धमा थियौं । क्रान्तिकारी जनआन्दोनलमा थियौं । त्याग र वलिदानको कीर्तिमान गथ्र्यौं । हामी क्रान्तिकारी रुपान्तरणका अभियन्ता थियौं । सामाजिक क्रान्तिका लागि जस्तोसुकै वलिदानी भन्थ्यौं र गथ्र्यौं र माओवादी जनताले सजिलै चिन्थे । माओवादी अर्कै हुन् र अरु पार्टी अर्कै हुन् । तर, त्यस्तो रहेन ।’ उनले पहिले माओवादीले जनतासँगै रहेर खेतिपातीको काम गर्ने, जनता विरामी पर्दा सहयोग गर्ने र शिक्षाको कुरामा पनि जनताको सेवा गर्ने पार्टी हुनुपर्ने बताए ।
Photo By: Mukunda Kalikote/ReportersNepal