Logo

ओलीलाई प्रचण्डको प्रश्न–तिमी कसको बैशाखी टेकेर दुईचोटी प्रधानमन्त्री भयौ (भिडिओसहित)



काठमाडौं, १८ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई गुगलमा खोज्नुपर्छ भनेपनि चुनावपछि माओवादी झन् शक्तिशाली भएको दाबी गरेका छन् ।

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निवार्चनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् । संसद बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको बैशाखी टेकेर माओवादीलाई चुनावमा होमिएको भनी गरेको टिप्पणीको जवाफ दिँदै प्रचण्डले भने ‘अब त एमालेले सबक सिक्यो होला भनेको त झन् ३ घण्टासम्म गाली गरेको छ, लुटेर लडाएको जस्तो हो भन्या छ, केपीले माओवादीले जस्तो कसैको वैशाखी नटेक्ने भने पनि, तिमी कसको बैशाखी टेकेर प्रधानमन्त्री भएका थियौ ? आफ्नो अनुहार हेर्न परेन ऐनामा ।’ एमाले टुक्रिएर स्थानीय चुनावमा पराजित हुदाँपनि अझै दम्भ देखिएको उनले बताए ।

ओलीले स्थानीय तहको चुनाव अघिे माओवादी केन्द्रलाई टर्च लाइट बालेर खोज्न पर्ने बताउँदै आएका थिए । प्रचण्डले कांग्रेसमा पनि अहंकार र दम्भ चुलिए एमालेलाई जसरी ठेगान लगाउने बताएका हुन् । उनले भने,‘एमालेमा झै कांग्रेसका साथीहरुमा दम्भ र अहंकार चुलिए, माओवादी केही नी होइन् स्थानीय तहमा पनि धेरै जसो ठाउँमा ठेगान लगाइयो भनेर भनेमा एमालेलाई ठेगान लगाए जस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआवोस् भन्ने चाहान्छौं ।’

उनले कांग्रेसलाई लक्षित गर्दै अंहकारले कसैको पनि हित नगर्ने र सबै आ–आफ्नो ठाउँमा देश, जनता र राष्ट्रप्रति उत्तरदायी भएर लाग्नुपर्ने बताए । स्थानीय तहको चुनावमा आफु कांग्रेसको धेरै तहमा ल्याउनेमा आशावादी पहिल्यै भएको बताए । ‘अब एमालेले झैं कांग्रेसले पनि अंहकार देखाँउछ की जस्तो लागेको छ । देशभरका साथीहरुले रिपोर्ट पठाइराख्नुभएको छ ।’–उनले भने ।

तर,गठबन्धन भने कायम राख्ने उनले स्पष्ट पारे । यदि कसैमा अंहकार र दम्भ आएमा त्यसविरुद्ध पनि लड्ने बताए । आफुहरु निरन्तर क्रान्तिको मार्गमा रहेको भन्दै उनले भने, ‘जो जो आउछ । त्यसलाई ठोक्दै जानेमा परियो भन्दै त्यसकारण त्यस्तो अवस्था नआवोस भन्नेमा हामी सतर्क छौं ।’

https://www.facebook.com/RishiDhamalaOfficial/videos/3091649011165069

तस्विर तथा भिडिओ : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्