Logo

प्रचण्डले कांग्रेसलाई धम्की दिनुभएको होइन, दम्भ नदेखाउन भन्नुभएको होः दीनानाथ शर्मा



काठमाडौं, १९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसलाई धम्की नदिएको दाबी गरेको छ ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “म त्यहीँ कार्यक्रममा थिएँ । प्रचण्डले गठबन्धनलाई सुदृढ र व्यवस्थित बनाउनुपर्छ भन्ने स्प्रिटमा बोल्नुभएको हो । उहाँ विगतका इतिहासको आत्मसमीक्षा गर्ने नेता हो । २०६४ सालमा हामी ठूलो पार्टी बन्यौं । आफू शक्तिशाली बनेको दम्भका कारण राम्रो गर्न सकेनौं । त्यसैले जुन पार्टी ठूलो बन्छ, त्यो विनम्र बनेर अघि बढ्नुपर्छ भन्ने उहाँको भनाइ हो । तर कांग्रेसलाई धम्काएको होइन । ठूलो पार्टी बनेपछि कांग्रेसमा पनि दम्भ आएको हुन सक्छ, कसैले पनि अहंकार नलियोस् भन्ने प्रचण्डको भनाइलाई मिडियामा तोडमरोड गरिएको मात्र हो ।”
५ दलीय गठबन्धन टुटाउनका लागि गलत किसिमले प्रचारबाजी भएको आरोप पनि शर्माले लगाए । उनले भने, “हामी जे भन्छौं त्यही गर्छौं । जे गर्छौं, त्यही भन्छौं । सकेसम्म गठबन्धन टुटोस् भन्ने आशयबाट वामगठबन्धनको प्रचारबाजी भएको छ । प्रचण्डले यो गठबन्धन संघीय चुनावसम्म जान्छ भन्ने दृढता व्यक्त गर्नुभएको छ । निर्वाचन घोषणा भएपछि गठबन्धनको कुरा आउँछ । सिटको विषयमा प्रवेश नै गरिएको छैन ।”



प्रतिक्रिया दिनुहोस्