काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीसँग तालमेल गरेका कारण नेकपा (माओवादी केन्द्र) तेस्रो शक्तिको रुपमा स्थापित भएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, “कमरेड प्रचण्डले कुन सन्दर्भमा बोल्नुभएको हो, त्यो थाहा नपाईकन बोल्नु हतारो हुन्छ । हाम्रा नेताहरु सार्वजनिक खपतका लागि बोल्छन् । सिद्धान्तको उडान भर्ने क्रममा पनि बोल्छन् । तत्कालीन नेकपा तीन वटा पार्टीमा विभाजन भएको अवस्थामा नेपाली कांग्रेससँग तालमेल गरेका कारण माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा स्थापित भएको छ । यति कुरा नबुझीकन टिप्पणी गर्न थाल्नुभयो भने कमरेड प्रचण्डका निम्ति पनि हितकर हुँदैन ।”
आगामी संघ र प्रदेश निर्वाचनमा तालमेल हुन्छ वा हुँदैन भन्ने अहिले यकिन नभएको कांग्रेस नेता लेखकले बताए । उनले थपे, “अहिलेसम्म गठबन्धन कायमै छ । सरकारको गठबन्धन पनि कायमै छ । भोलिको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन ? कस्तो मोडालिटीमा हुन्छ ? पूर्वानुमान र अनुमान मात्र हो । निर्वाचनको तिथिमिथि घोषणा गरिसकेपछि त्यसबारे थाहा हुन्छ । राजनीतिमा सबै कुराको सम्भावना हुन्छ । मैले तालमेल हुन्छ पनि भनेको छैन, हुँदैन पनि भनेको छैन ।”
नेता लेखकले संघ र प्रदेशमा तालेमल अघि स्थानीय तह निर्वाचनको सुखद र दुखद परिणामको समीक्षा जरुरी भएको पनि औंल्याए । उनले भने, “स्थानीय तहमा औचित्य र आवश्यकता हेरेर तालमेल भयो । तर मेरै जिल्लामा कञ्चनपुर मित्रवत् प्रतिस्पर्धामा गयौं । एक्लै लड्दा राम्रैसँग विजय प्राप्त गरेका छौं । यसो भन्दैमा म तालेमललाई न्यून मूल्यांकन गर्न चाहन्न । कतिपय ठाउँमा सुखद परिणाम आएको छ । यसबारे समीक्षा गर्नै बाँकी छ ।”