Logo

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण



काठमाडौँ,१९ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले वर्षात् नजिकिएसँगै बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न अहिले नै पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले प्राकृतिक प्रकोपबाट बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको भन्दै क्षति न्यूनीकरणमा ध्यान दिन सरकारकासँग आग्रह गरे ।

गत वर्ष मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा गएको पहिराका कारण मानवीय र अर्बौको भौतिक क्षति भएको थियो । नेकपा (एकीकृत समाजवादी)का सांसद नन्दा चपाईंले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न अव्यवस्थितरूपमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

सम्भावित जोखिमको आकलन गर्दै जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा सार्न सके मानवीय क्षति हुनबाट रोक्न सकिने उनको भनाइ थियो । नेकपा (एमाले)का सांसद दीपा गुरुङले सडकसँग जोडिएका विद्युत्का तार हटाउन माग गरे । एमालेका सांसद दीलकुमारी रावल थापा (पार्वती) ले महिला हिंसाका घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरे ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले विश्वव्यापी फैलिएको मङ्कीपक्स रोग फैलन नदिन आवश्यक सतर्कता अपनाउन सरकारसँग माग गरे । नेकपा (माओवादी केन्द्र) का सांसद महेशकुमार महराले नेपालगञ्जमा जनआन्दोलनका सहिदको शालिक भत्काउने कार्यमा संलग्नलाई कारबाही गर्न माग गरे। माओवादीकै सांसद हरिराम चौधरीले सातै प्रदेशबाट सवारी चालक अनुमतिपत्र दिने व्यवस्था मिलाउन आग्रह गरे । रासस



प्रतिक्रिया दिनुहोस्