काठमाडौं, १९ जेठ । लघुवित्तिय संस्थाविरूद्वको संघर्ष समिति नेपालले असोज २५ गते काठमाडौंमा लाखौं पीडित महिला उतारेर वृहत विरोध सभा गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले लघुवित्तिय संस्थाको खारेजी नगरेसम्म आन्दोलन गर्ने बताएको हो ।
उक्त विरोध कार्यक्रमलाई संघर्ष समितिले राजनीतिक दल, नेपाल सरकार, मानव अधिकारवादी संघ संस्थाहरु, पत्रकार, बृद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मी लगायत सम्पुर्ण देश र विदेशमा रहने सबैले आर्थिक, नैतिक र भौतिक समर्थन र सहयोग गर्न अनुरोध गरेको छ ।
समितिले गत फागुन ५ गतेदेखि लघुवित्तका सबै बैठकहरु वहिस्कार गरेर लघुवित्तविरुद्ध संघर्षको कार्यक्रम सुरु गरेको हो । अहिलेसम्म १० जिल्लामा संरचना गठन गरेको र ३५ जिल्लामा सम्पर्क समिति गठन हुने क्रममा रहेको पनि समितिले जानकारी दिएको हो ।
लघुवित्तिय संस्थाहरुद्धारा लगाइएको सामुहिक ऋण मिनाहा गर्न, आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमताको आधारित काम र दामको व्यवस्था गर्न र समाजवादी अर्थतन्त्रको विकास गर्न समितिले माग अघि सारेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मणिराम ज्ञवालीले गत माघ १८ गते गुल्मीदरबार गाउँपालिका, फागुन ५ गते शिवराज नगरपालिकामा ५ बुंदे माग पत्र पेश गरिसकेको बताए ।
उनले आफुहरुले ग्रामिण महिलाहरुको हितको लागि असोज २५ गते काठमाडौंमा गर्ने बृहत विरोध सभामा सहभागि हुन सम्पुर्ण नागरिकहरुलाई आग्रह गरे । उनले भने,‘अब सबै लघुवित्तीय संस्थविरुद्धमा एकजुट भई संघर्षमा जुट्नुपर्छ । अहिले सम्म व्यवस्था परिवर्तनको लागि आन्दोलनमा गर्दै आयौ अब महिलाहरुको लागि आन्दोलन गर्नेछौ ।’
उनले राष्ट्र बैंकले लघुवित्तिय संस्था सञ्चालन गरेर महिलाहरुलाई रोजगारी दिने र आर्थिक स्तर वृद्धि गर्ने उद्देश्य लिएपनि उद्देश्य अनुुसार काम नभएको आरोप लगाए । यसबाट ग्रामिण महिलाहरु उल्टै उत्पपिडनमा परेको उनले जिकिर गरे । लघुवित्तमा सम्लग्न २ प्रतिशत महिला विस्थापित र सयौं महिलाहरुले आत्महत्या गरेको तथ्याकं उनले सुनाए ।
‘समाजमा अहिले कलह उत्पन्न भएको अवस्था छ । समाजमा महिला–महिलाबीच लडाइ भइरहेको छ। यसको जिम्मा कसले लिने ?’ उनले भने,‘नेपाली जनताको आय अवस्थाको परिवर्तन सरकार र राजनीतिक दल गर्नुपर्ने थियो तर गर्न सकेन । सरकारको उदेश्य विपरित लघुउद्यमहरुले आफ्नो जीविका पालन मात्र गर्न खोजे, सही तरिकाले परिचालन गर्न सकेनन् । नाफा कमाउन तीर लागेपछि प्रभाव हिन भएको आज नेपालमा लघुउद्यममा ह्रास आइरहेको छ ।’
राष्ट्र बैंकले नेपालमा अहिलेसम्म ६७ लघुउद्यमहरु सञ्चालनका लागि अनुमति दिएको उनले स्पष्ट पारे । र, सहि तरिकाले परिचालन गर्न नसक्दा नेपालमा वित्तिय संस्थाहरु लगभग असफल भइसकेको उनले टिप्पणी गरे । जसको कारण निम्न र पीडित वर्गमा त्रास उत्पन्न भइरहेको उनको भनाई थियो । पछिल्लो समय समाजमा आपसमा झै–झगडा हुने कारण लघुवित्त नै भएको उनले जिकिर गरे । यस विषयमा नेपाल सरकारले ध्यान दिन पर्ने उनले धारणा राखे ।
त्यस्तै, संघर्ष समितिको सदस्य विष्णुमाया बुढाथोकीले लघुवित्तको ऋण लिएर महिलाहरुले ब्याज र किस्ता बुझाउँदा झन् पीडित भएको गुनासो पोखिन् । महिलाहरुले दुःखले गर्दा ऋण लिन परेको र तिर्न नसक्दा महिलाहरुलाई झनै अफ्ठेरोमा परेको उनले सुनाईन् । लघुवित्तकै ऋणको कारण २ प्रतिशत महिलाहरुले आत्महत्या गरिसकेको समेत उनले दाबी गरिन् । ऋणका कारण पारिवारिक कलह र समाजमा झै–झगडा हुने गरेको उनको भनाई थियो ।
‘लघुवित्तले गाउँबाटै पैसा उठाएर गाउँका महिलाहरुको उठिवास लगाएको छ’–उनले भनिन्,‘२ लाख ऋण लिँदा ३० हजार उतै काटेको हुन्छ ऋणीले सधै किस्ता तिर्दै झन् ऋणको बोझ हुन्छ ।’ बैंकका कर्मचारीहरुले ऋण तिर्न नसकेका महिलाहरुलाई २ नम्बरको काम गर्न दबाब दिएको समेत आरोप लगाइन् ।
संघर्ष समितिका अर्की सदस्य एलिमा खातुनले लघुवित्तको ब्रह्मलुट र ग्रामिण महिलाप्रति गरेको ज्यादतीको विरुद्ध अब भण्डारफोर गर्ने बताइन् । उनले मिलेर बसेको गाउँपारिवारको समाजलाई लघुवित्त गाउँ– गाउँ पसेर मनग्य कमाउनको लागि ऋण प्रवाह गरको आरोप दाबी गरिन् । पैसाको आवश्यकता भएपनि गाउँका महिलाहरु ऋण लिएपछि तिर्न नसक्ने अवस्थामा गुज्रिएको उनको भनाई थियो । उनले भनिन्, ‘सुरुमा ऋण दिने र पछि तनाव दिने गर्दा महिलाहरु झुक्किएका छन् ।’ १ लाख ऋण लिएकोमा जम्मा ८५ हजार मात्र हातमा पर्ने र तिर्नेबेला १ लाख २० हजार तिर्न पर्ने उनले स्मरण गराइन् । उनले एउटा महिलाले पैसा तिर्न नसकेमा घरको सबै हाडो भाडो सबै ल्याउन लघुवित्तले निर्देशन दिने गरेको भन्दै गुनासो पोखिन् ।
कार्यक्रममा समितिकी कोषाध्यक्ष शिखा रेश्मी, सदस्य रेनुकला प्रेमीले आफ्नो भनाई राखेका थिए ।