Logo

गठबन्धनभित्रै अर्को गठबन्धन बनेछः उपेन्द्र यादव



काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नेकपा (एकीकृत समाजवादी) र आफ्नो पार्टीलाई पन्छाएर समीकरण गरेको आरोप लगाएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै जसपा अध्यक्ष यादवले भने, “हामी अहिले पनि ५ दलीय गठबन्धनमै छौं । गठबन्धनभित्र महानगर र उपमहानगरमा हामीबीच समझदारी भएको थियो । नेपाली कांग्रेस त्यो समझदारी अनुसार कतिपय ठाउँमा अगाडि बढेन । गठबन्धनभित्र पनि अर्को गठबन्धन भएछ । माओवादी र कांग्रेस मिलेर एकीकृत समाजवादी र जसपालाई पछाडि धकेल्ने काम भएछ । त्यसमा हाम्रो असहमति छ, असन्तुष्टि छ ।”

“कांग्रेस पुनर्मुसिको भवः हुन सक्छ”
कांग्रेसले धोका दिएको भन्दा पनि कांग्रेसभित्रको अन्तर्द्वन्द्वका कारण गठबन्धनको परिणाम सुखद हुन नसकेको यादवको विश्लेषण छ । उनले थपे, “म अहिले पनि गठबन्धनमा भएका कमीकमजोरीलाई सच्चाएर जानुपर्छ भन्ने पक्षमा छु । स्थानीय तहको निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दा पनि कांग्रेसभित्रको द्वन्द्वको परिणाम अलि फरक आयो । नेपाली कांग्रेसले विगतमा भएका गल्ती र कमजोरी महसुस गर्दै सचेत हुनुपर्छ । प्रचण्डले कांग्रेसलाई भन्नु भयो । म आफूलगायत सबैलाई भन्छु । अहंकारले विनास ल्याउँछ । पतन गराउँछ । कसैले अहंकार नगरौं ।”
ठूलो पार्टीको हैसियतमा गठबन्धनलाई अगाडि बढाउने दायित्व कांग्रेसकै हुने उनले औंल्याए । यादवले भने, “हामीले त गठबन्धनको मर्म अनुकूल काम गर्यौं । तर कांग्रेस गठबन्धनको संस्कृति निर्वाहमा चुकेको छ । ठूलो पार्टीको हैसियतमा गठबन्धनलाई अगाडि बढाउने दायित्व कांग्रेसकै हो । त्यसको लाभ उसलाई नै हुन्छ । त्यो दूरदर्शिता देखाएन भने कांग्रेस पुनर्मुसिको भवः हुन पनि सक्छ ।”
स्थानीय तहको निर्वाचनमा कांग्रेसभित्रको एउटा पक्षले इमानदारी निर्वाह नगरेको जसपा अध्यक्ष यादवको आरोप छ । उनले भने, “स्थानीय तहमा भएका कमीकमजोरीलाई स्वीकार्नुपर्छ । अझै पनि हाम्रो सँगै जाने प्रतिबद्धता छ । प्रधानमन्त्रीको इमानदारीमा कसैले शंका नगरे पनि हुन्छ । कुरा विराटनगरको मात्र होइन, जनकपुरको पनि कुरा छ । तैपनि म रुष्ट छैन । विराटनगरमा एउटा भोट सूर्यमा हाल्नुभयो, अरु भोट रुखमा हाल्नुभयो । जनकपुरमा एउटा भोट स्वतन्त्रमा हाल्नुभयो, अरु भोट रुखमा हाल्नुभयो । यसले गठबन्धनको स्वास्थ्य बिग्रन्छ । गठबन्धनमा कुनै दुर्घटना भयो भने ठूलो नोक्सान कांग्रेसलाई नै हुन्छ । किनभने गठबन्धन नभएको भए प्रतिगमन सच्चिने थिएन, कांग्रेसले सरकारको नेतृत्व गर्न पाउने थिएन, स्थानीय तहमा पहिलो पार्टी पनि हुने थिएन ।”

“जसपालाई घाटा भएको छैन”
स्थानीय तहको निर्वाचनमा जसपालाई घाटा नभएको पनि उनले बताए । उनले भने, “स्थानीय तहमा हामीलाई घाटा भएको छैन । पहिले भन्दा चारपाँच गुना बढी मत पाएका छौं । वडाको संख्या बढेको छ । क्षेत्र विस्तार भएको छ । पहिले पनि चौथो थियो, अहिले पनि चौथै छ । केही साथीहरु लोसपा बनाएर छुट्टिनुभयो । उहाँहरुले पार्टी फुटाएर के पाउनुभो त ? हामी सैद्धान्तिक रुपमा फरक छौं तर मुद्दामा समानता छ । उहाँहरुले चाहनुभयो भने सहकार्य असम्भव छैन ।” साथै नेता यादवले क्लासिक कम्युनिस्टको ह्याङओभर छोडे माओवादी केन्द्र र एकीकृत समाजवादीसँग एकता सम्भव रहेको बताए ।

“भविष्य त कसले देखेको छ र ?”

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेट गठबन्धन तोड्नका लागि नभएको उनको दाबी छ । यादवले भने, “हामीबीच लामो समयदेखि संवादहीनता थियो । खासै कुराकानी हुँदैनथ्यो । उहाँले आग्रह गर्नुभयो । म गएँ । केही मिनेट सामान्य कुराकानी भयो । राजनीतिक एजेन्डा केही थिएन । स्वास्थ्यका कुरा भए । फरक विचार भएका पार्टीका नेताहरुसँग कुराकानी हुनु नराम्रो होइन । कुरा गर्दैमा बिग्रने केही छैन । राजनीतिमा सबै विकल्प खुला हुन्छ । तर तत्काल विकल्पको सम्भावना छैन । भविष्य त कसले देखेको छ र ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot