Logo

प्रदेशका नेताहरुलाई प्रचण्डको ब्रिफिङ : यही गठबन्धन कायम रहन्छ, एमालेसँग सहकार्यको सम्भावना छैन्



काठमाडौं, २० जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका विभिन्न प्रदेशबाट आएका नेताहरुलाई यही पाँच दलीय गठबन्धन नै आगामी संघीय संसद्को निर्वाचनसम्म कायम रहने ब्रिफिङ गरेका छन् । पछिल्लो समय प्रचण्डले आफूलाई एमालेबाट प्रधानमन्त्री बन्न अफर आएको खुलासा गरेपछि उनले आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जवाफ दिनुपरेको छ ।

अहिले माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरु पार्टीको प्रशिक्षणमा भाग लिन काठमाडौं आएका हुन् । उनीहरुसँगै विभिन्न प्रदेशका नेताहरु पनि आएका छन् । आज (शुक्रबार) विहानमात्रै मधेश र कर्णाली प्रदेशका नेताहरुले प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

कर्णाली प्रदेशका नेताहरुलाई प्रचण्डले यही गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गराउने भन्दै सोहीअनुसार तयारी थाल्न निर्देशन दिएका छन् । त्यस्तै, उनले स्थानीय तहको निर्वाचनमा माओवादीले यो भन्दापनि राम्रो गर्नसक्ने थियो भन्ने धारणा राखे ।

उनले कर्णाली प्रदेशमा माओवादीको स्थानीय तहको नतिजाबाट आफू असन्तुष्ट नरहेको पनि स्पष्ट पारेका थिए । प्रचण्डले कांग्रेसले पनि एमालेजस्तो दम्भ र अहंकार पाले ठेगान लगाउने चेतावनी दिँदै आएका छन् । उनले मुलुकको राजनीतिक स्थायित्व र विकासको लागि पनि सबै दलहरु सुझबुझपूर्ण तवरले अघि बढ्नुपर्ने दाहालको भनाई रहँदै आएको छ ।

प्रचण्डको पछिल्लो अभिव्यक्तिले नेपाली राजनीति नै तरंगित बनेको छ । कांग्रेसका नेताहरुले त आफुहरुमा कुनै दम्भ र अहंकार नभएको भन्दै मुलुक र जनताको लागि हार्न तयार रहेको जवाफ फर्काएका छन् । प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई तत्काल एमालेसँग सहकार्यको कुनै सम्भावना नरहेको पनि ब्रिफिङ गरेका छन्।file photo



प्रतिक्रिया दिनुहोस्