Logo

देउवासँग प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवद्वारा बार्गेनिङ



काठमाडौं, २० जेठ । स्थानीय तहको चुनाव सकिएलगत्तै गठबन्धनभित्र कम्पन आइसकेको छ । चुनावबाट नेपाली काँग्रेसको आकार बढेको छ । नेकपा माओवादी केन्द्र पनि पहिले भन्दा शक्तिशाली बनेको छ । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले आँकलन गरेभन्दा आधा कम पालिका जितेको छ । जनता समाजवादी पार्टीको पनि शक्ति घटेको छ ।

चुनावी परिणामले कसैलाई शक्तिशाली बनाएर त कसैलाई कमजोर बनाएर बार्गेनिङ गर्ने अवस्थामा पुर्याएको छ । माओवादी अध्यक्ष प्रचण्डले उत्साही भएर आफूहरुसँग देशलाई जुन बाटो भन्यो उतै लाने शक्ति प्राप्त भएको बताइसकेका छन् । उनले काँग्रेससँग संसदको चुनावमा गठबन्धनका लागि बढीभन्दा बढी प्रत्यक्षतर्फको सिट माग्न थालेका छन् ।

प्रचण्डले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आइसकेको बताएका छन् । यो अभिव्यक्ति देउवासँग बार्गेनिङको उद्देश्यले आएको विश्लेषण हुन थालेका छन् । संसदको चुनावमा काँग्रेससँगको गठबन्धनमा मागेको जति तालमेलमा सिट नपाए प्रचण्डले विकल्प खोज्ने सन्देश दिइसकेका छन् ।

माधव नेपालले पनि आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको खुलासा गरेका छन् । माधव नेपाल स्थानीय तहको चुनावी परिणामप्रति सन्तुष्ट छैनन् । काँग्रेससँगको गठबन्धनका लागि कम्तिमा अहिले जितेका सांसद बराबरको सिट र थप केही सिटको बार्गेनिङ गर्न थालिसकेका छन् । उनको अभिव्यक्ति यही आशयका साथ आएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव पनि काँग्रेससँग असन्तुष्ट छन् । विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरमा काँग्रेसका नागेश कोइराला जित्दा उपेन्द्रकै छोरा अमरेन्द्र पराजित भए । जसपाको आकार २०७४ को चुनावको तुलनामा घट्यो । यादवले लोसपासँग एकता या चुनावी तालमेलका लागि कुराकानी बढाइसकेका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका छन् ।

गठबन्धनमा रहने हो भने बढीभन्दा बढी संसदको चुनावमा तालमेल हुँदा सिट पाउनुपर्ने प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको माग रहेको देखिन्छ । उनीहरु अन्यथा विकल्पमा एमालेसँग तालमेलमा जाने अवस्थासम्म पुग्ने सन्देश दिन थालिसकेका छन् । यो त्यति सजिलो छैन तर राजनीतिमा असम्भव होइन ।

अहिले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव बार्गेनिङ गरिरहेका छन् । उनीहरु देउवालाई अप्ठ्यारोमा पारिरहेका छन् । विश्वस्त स्रोतका अनुसार तीनैजना नेताले काँग्रेसले कम्तिमा आधा सिट तालमेलका क्रममा छाड्नुपर्ने पक्षमा उभिएका छन् । अन्यथा विकल्प खोज्ने गरी भित्र भित्र तयारमिा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot