काठमाडौं, जेठ २१ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटेको जनाएको छ । संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भइसक्नुपर्नेछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा चुनाव गर्नुपर्ने भए कात्तिक अन्तिममा सक्ने र दुई चरणमा गर्ने भए मङ्सिर १० गतेभित्र सक्नुपर्ने गरी आयोग आन्तरिक तयारीमा जुटेको जानकारी दिए ।
उनले कानुन बमोजिम चुनाव हुने र छ महिना समय बाँकी रहेकाले स्थानीय तह निर्वाचनमा देखिएका त्रुटि अहिलेदेखि नै सुधार गर्न लागेको बताए । आयोग समक्ष चुनावको तयारी गर्न पर्याप्त समय रहेकाले मतदाता नामावलीमा देखिएको त्रुटि सच्याउने, मतदान स्थलको पुनरावलोकन गर्ने र उच्च प्रतिस्पर्धामार्फत सस्तो दरमा निर्वाचन सामग्री खरिद गर्ने काममा आयोग लागेको बताए ।
२०७४ मा मङ्सिर ११ गते पहिलो चरणमा हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा र मङ्सिर २१ गते बाँकी जिल्लामा गरी दुई चरणमा मतदान भएको थियो । प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ १६४ र समानुपातिकतर्फ ११० पदका लागि निर्वाचन हुनेछ । प्रदेशतर्फ भने ५३० सदस्य पदका लागि निर्वाचन हुनेछ । गोरखापत्र दैनिकबाट