Logo

कांग्रेसले आगामी महाधिवेशनमा दलित समुदायका साथीलाई महामन्त्रीका रूपमा पाउनेछः विश्वप्रकाश शर्मा



काठमाडौं, २१ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनमा दलित समुदायले महामन्त्री पाउने विश्वास व्यक्त गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने, “प्रमुख राजनीतिक दलमा दलित पदाधिकारी नेपाली कांग्रेसमा मात्र जीवन परियार हुनुहुन्छ । हाम्रो पार्टीमा जातीय विभेद गर्ने व्यक्ति पार्टी सदस्यताका लागि योग्य हुन सक्दैन । कुनै बेला धनमानसिंह परियार बीपी कोइरालाको महामन्त्री हुनुहुन्थ्यो । अहिले विधानको व्यवस्था अनुसार पार्टीको सहमहामन्त्री जीवन परियार हुनुहुन्छ । मलाई आशा छ, आगामी महाधिवेशनमा कांग्रेसको महामन्त्री दलित समुदायको साथी नै बन्नेछ ।”
कांग्रेस महामन्त्री शर्माले संविधान वा कानुनमा लेखेर मात्र छुवाछुत मुक्ति नहुने औंल्याए । उनले भने, हो, देश छुवाछुतमुक्त भएको १६ वर्ष भयो । तर त्यसलाई जीवन र व्यवहारमा रुपान्तरण गर्न सक्नुपर्छ । गणतन्त्रमा जानु नै देश बन्नु होइन । समाज बदल्ने कुरा सजिलो छैन । आज पनि अन्तर्जातीय प्रेम विवाह गर्दा धेरै युवकयुवती मारिएका छन् । त्यसैले सामाजिक रुपान्तरणका लागि जबर्जस्त ढंगको साझा अठोट आवश्यक छ । हाम्रो काम लेख्ने मात्र होइन, कार्यान्वयन पनि गर्ने हो ।”
फरक प्रसंगमा महामन्त्री शर्माले स्थानीय तह निर्वाचनको समीक्षा गरेर पार्टी अघि बढ्ने बताए । उनले भने, “स्थानीय तहको निर्वाचनको अर्को चरण ७७ जिल्लामा समन्वय समिति बन्न बाँकी छ । बाजुराको बूढीगंगा नगरपालिकाको परिणाम पनि आएको छैन । तालमेल सफल वा असफल भएका दुवैथरी उदाहरण छन् । कतिपय ठाउँमा हामी मिल्दामिल्दै पनि पराजय बेहोरेका छौं । थुप्रै ठाउँमा एक्लै उठेर जितेका छौं । संस्थागत निर्णय केन्द्रीय समितिको बैठकले गर्नेछ ।”
कांग्रेस खोला तर्यो, लौरो बिस्र्यो गर्ने पार्टी नभएको पनि उनको जिकिर छ । शर्माले भने, “नेपाली कांग्रेस तालमेलको पक्ष वा विपक्षमा भन्दा पनि कांग्रेसकै पक्षमा छ । हाम्रो लक्ष्य पहिलो दल, ठूलो दल र बहुमतप्राप्त दल बन्ने हो । तर, हामी खोला तर्यो, लौरो बिस्र्यो गर्दैनौं । तर हामीलाई के पनि थाहा छ भने, एक हातले ताली बज्दैन ।”
स्थानीय तह निर्वाचनको अंश अंशमा भन्दा पनि समग्रमा समीक्षा गर्नुपर्ने उनले बताए । शर्माले थपे, “गठबन्धन दलहरुले अंशअंशमा समीक्षा गर्ने होइन । विजय हासिल भएको ठाउँमा एउटा, पराजय भएको ठाउँमा अर्को मापदण्ड बनाउने होइन । जसपाले विराटनगर मात्र होइन, वीरगन्ज पनि हेर्नुपर्छ । नेकपा (एस) ले काठमाडौं र बुटवलको उपप्रमुख मात्र होइन, हेटौंडा र पोखरा पनि हेर्नुपर्छ । फेरि भोट भनेको बैंकमा राखिएको नोटजस्तो सरर्र ट्रान्सफर गर्न मिल्दैन । यो जनताले मत दिएर आएको परिणाम हो । निर्वाचनको प्रक्रियालाई सम्मान गरेर अघि बढ्नुपर्छ ।”
सरकारले महँगी नियन्त्रणको इच्छाशक्तिका साथ कार्यक्रम ल्याउनुपर्ने पनि उनले औंल्याए । शर्माले थपे, “हो, बजारमा महँगी छ । तर, बजेटको अघिल्लो दिनसम्म सामान्य थियो, बजेट आएपछि धरहरातिर उक्लियो भन्ने पनि होइन । सरकारले लिनुहुन्न । महँगी नियन्त्रणको इच्छाशक्तिका साथ कार्यक्रम ल्याउनु आवश्यक हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्