Logo

घनश्याम भुसाललाई स्पष्टीकरण सोध्नेदेखि निष्कासनको कारबाहीसम्म हुन सक्छः केशव बडाल



काठमाडौं, २२ जेठ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टी सदस्यले मनपरी मनपरी बोल्न नपाइने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “पार्टी स्थायी समिति सदस्य घनश्याम भुसालले हिमालय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सौराहा काण्ड भन्ने शब्द प्रयोग गर्नुभएको छ । उहाँले बोल्नै नहुने, भन्नै नहुने कुरा हो । पार्टी सदस्य भएर मनपरी बोल्न पाइँदैन । आफै बसेको घरमा आगो लगाएर खरानीको टीका लगाएर हिँड्ने अधिकार उहाँलाई मात्र होइन, केशव बडाललाई पनि छैन । पार्टीमा रहुन्जेल आफ्नो कमिटीमा विमति राख्न पाइन्छ, आलोचना र बहस गर्न पाइन्छ । तर, सार्वजनिक रुपमा पार्टी हित विपरीत बोल्न पाइँदैन । यो विषय अत्यन्तै गम्भीर छ । यो कुनै पनि मानेमा केपी शर्मा ओलीमाथिको हमला मात्र होइन, सिंगो महाधिवेशन र पार्टीमाथिकै हमला हो ।”
केन्द्रीय अनुशासन आयोगले नेता भुसालमाथि कारबाहीका लागि केन्द्रीय कमिटीलाई पत्र लेखेको उनले बताए । बडालले थपे, “अनुशासन आयोगलाई अनुशासनसम्बन्धी विभिन्न सूचना प्राप्त भएको थियो । जेठ १८ गते अनुशासन आयोगको सचिवालय बैठकले पार्टी महाधिवेशनको भावनाको बर्खिलाफ बोल्नेविरुद्ध कारबाहीका निम्ति पत्र लेखेको साँचो हो । अनुशासन आयोग आफैंले कारबाही गर्दैन, हामीले सिफारिस गर्ने मात्र हो । यो कुरा पार्टीका ११ लाख सदस्यलाई लागू हुन्छ । घनश्याम भुसाल, केशव बडाल वा केपी शर्मा ओली सबैलाई हुने त्यही हो ।”
नेता बडालले भुसालमाथि स्पष्टीकरण सोध्नेदेखि निष्कासनसम्मको कारबाही हुन सक्ने औंल्याए । उनले थपे, “उहाँले पार्टीलाई बदनाम गर्नुभएको छ । यसबारे छलफल गर्न उहाँलाई केन्द्रीय कमिटीले बोलाउला, उहाँको भनाइ सुन्ला । उहाँले पार्टी अनुशासन कबोल नगरे स्पष्टीकरण सोध्ला, सचेत गराउला । तर कारबाहीलाई निष्कासन भन्ने नबुझे हुन्छ । कसलाई कारबाही गर्ने, कसलाई नगर्ने भन्ने पार्टीको आन्तरिक विषय हो ।” उनले भीम रावलले भुसालको जस्तो नबोलेको पनि पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्