Logo

कांग्रेसलाई तर्साउन एमालेले प्रधानमन्त्रीको अफर गरेको हल्ला चलाइएको होः पद्मा अर्याल



काठमाडौं, २२ जेठ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धनमा बार्गेनिङका लागि पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रस्वाव गरेको हल्ला चलाएको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अर्यालले भनिन्, “नेकपा एमालेको कुरा एमालेले नै बोल्छ । एमालेको कुरा प्रचण्ड र माधव नेपालले बोल्ने होइन । उहाँहरुको केपी ओलीसँग कुनै भेटघाट भएको छैन । छलफल भएको पनि छैन । यो विषयमा कोही कसैसँग केही कुरा भएको छैन । यो कांगे्रसलाई तर्साउने र गठबन्धनमा आफ्नो पोजिसन र बार्गेनिङ पावर बढाउने हल्ला हो । मैले अहिलेसम्म त्यो सम्भावना देखेकी छैन ।”
स्थायी समिति सदस्य घनश्याम भुसालमाथिको कारबाही पार्टीको आन्तरिक विषय भएको अर्यालको टिप्पणी छ । उनले भनिन्, “अनुशासन आयोगले आफ्नो सुझाव पेस गरेको छ । त्यसमा छलफल गर्न बाँकी छ । केन्द्रीय समितिले के गर्छ भन्ने कुरा मैले ठ्याक्कै भन्न सक्दिनँ । त्यसमा आधिकारिक छलफल नगरीकन हचुवाको भरमा मैले भन्न मिल्दैन । यसमा मैले व्यक्तिगत रुपमा भन्ने कुरा छैन । उहाँलाई कुनै कारबाही भएको छैन । भएको पनि होइन । त्यसले यसबारेमा यसमा पक्ष र विपक्षमा कुरा गर्नु जरुरी छैन । यो आन्तरिक मामिला हो । मिडियामा बहस र छलफल हुने विषय नबनाऊँ ।”
उनले सुन्दा बाम गठबन्धन सुन्दर भए पनि त्यो तत्काल सम्भव नदेखिएको पनि बताइन् । अर्यालले भनिन्, “बाहिर जे जति हल्ला आएका छन्, त्यो आफ्नो स्वार्थसिद्धिका लागि गरिएको प्रचार हो । सुन्दा वामगठबन्धन सुन्दर कुरा हो । तर त्यो मनसायका साथ कुनै छलफल भएको छैन । भोलिको दिनमा छलफल भएछ भने अर्कै कुरा हो ।”



प्रतिक्रिया दिनुहोस्