Logo

‘गर्व गर्नलायक पूर्वाधार तयार’



काठमाडौं, जेठ २२ । निकै चासोका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फका सम्पूर्ण काम सकिएको छ। आन्तरिक पूर्वाधारतर्फका सबै काम सकिएपछि विमानस्थल हवाई उडान र अवतरणका लागि पूर्ण रूपमा तयार भएको आयोजनाले जनाएको छ।

आपत्कालीन अवस्थामा अब यो विमानस्थलबाट उडान र अवतरण गर्न सकिनेछ। पूर्वतर्फ आधा किलोमिटर क्षेत्रमा तारबार र आन्तरिक भवनमा सरसफाइ गर्नेबाहेक सबै काम पूरा भएको आयोजनाका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘केही क्षेत्रमा तारबार र आन्तरिक सरसफाइबाहेक गर्नुपर्ने आन्तरिक काम अब बाँकी छैन। एउटा ए ग्रेडको विमानस्थल तयार भएको छ,’ पौडेलले भने, ‘गर्व गर्नलायक पूर्वाधार तयार भएको छ।’ पौडेलका अनुसार अब विमानस्थलका लागि आन्तरिक रूपमा आवश्यक पूर्वाधार बनाउन बाँकी छैन। थप संरचना बनाउनुपर्ने आवश्यकता महसुस भएबाहेक योजनामा रहेका सबै काम पूरा भएको उनले बताए।

भौतिक पूर्वाधार निर्माणसँगै उपकरण जडान, परीक्षण, कर्मचारी प्रशिक्षण लगायत काम पनि भइरहेको छ। प्रशिक्षणमा कर्मचारीलाई अभ्यस्त बनाउने काम भइरहेको छ। विमानस्थलका लागि तीनवटा अग्निनियन्त्रक साधन (बारुणयन्त्र) पनि ल्याइएको छ।

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा तयार भएको छ। बाह्य क्षेत्रमा हुनुपर्नेबाहेक भित्री खण्डका काम सकिएका छन्,’ पौडेलले भने, ‘गर्नुपर्ने ठुला आकारका काम केही बाँकी नहुनु नै पूर्वाधार तयार हुनु हो। बाहिरी काम सम्बन्धित निकायले गर्नुपर्छ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। गत जुलाई १० मा काम सक्ने गरी विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सिएएमसिईले शिलान्यासको डेढ वर्षपछि काम थालेको थियो।

यो बीचमा कोरोना भाइरस संक्रमण फैलियो। तर पनि चिनियाँ कम्पनीले निर्माणलाई गति दिइरह्यो। कोरोना कहरका बीचमा पनि ९३ प्रतिशत काम पूरा भएपछि गत चैत तेस्रो साता निर्माण कम्पनीले महत्त्वपूर्ण पूर्वाधार सकिएको भन्दै विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

कोरोना कहरले तोकिएकै समयमा सबै काम नसकिएपछि एक वर्षका लागि थपिएको म्याद आगामी जुलाई १० मा सकिँदैछ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot