काठमाडौं, २२ जेठ । रुपन्देहीको रोहिणी खोलामा बस खस्दा घाइते भएकाहरुको उपचारमा कमी हुन नदिन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।
दुर्घटनामा मृत्यु भएकाहरुलाई श्रद्धान्जली दिँदै खाँणले घाइतेको उपचारमा केही कमी हुन नदिन निर्देशन दिएका हुन् । गृहमन्त्री खाँणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायलाई टेलिफोन गरी उनले यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्रीले भीम अस्पतालका अध्यक्ष र प्रशासन प्रमुखलाई यथाशक्य उपचारको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
रोहिणी खोलाको पुलबाट बस खस्दा मृत्यु भएका ५ जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु भएका ९ जना मध्ये ५ जनाको सनाखत भएको र अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको रुपन्देही प्रहरीले जनाएको छ । २० जना घाइते भएका थिए । मृत्यु भएका मध्ये बुटवलका विष्णु पौडेल, रौतहटका दिने दास, बुटबलका कृष्णप्रसाद बस्याल, रुपन्देहीमा राजेन्द्रपूसाद पाण्डे र भारतीय नागरिक अरविन्द शर्माको सनाखत भएको हो ।
भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा सडक खण्डस्थित पुलबाट खसेको थियो ।