एजेन्सी, २२ जेठ । दक्षिणपूर्वी बंगलादेशमा रहेको एक निजी कन्टेनर डिपोमा शनिबार राति भीषण आगलागी भएको छ । यस दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी घाइते भएका छन् ।
ढाका ट्रिब्युनका अनुसार शनिबार राति चट्टोग्रामस्थित बिएम कन्टेनर डिपोमा आगलागी भएको हो । ‘द डेली स्टार’का अनुसार आगलागी नियन्त्रणका लागि घटनास्थलमा सेना पठाइएको छ ।
बंगलादेश फायर सर्भिस एण्ड सिभिल डिफेन्सका एक अधिकारीले भने–आगो यति शक्तिशाली छ कि निभाउने क्रममा पाँच दमकलका कर्मचारीहरुको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा कुमिरा स्टेसन अफिसर (नर्सिङ असिस्टेन्ट) मोनिरुज्जमानको सनाखत भएको छ । त्यस्तै, १५ अग्नि नियन्त्रक घाइते भएका छन् । सोही क्रममा २ जना कर्मचारी बेपत्ता छन् ।
डिपोमा लागेको आगो निभाउन १९ दमकल पुगेका थिए । धेरै प्रयासपछि मृतकको शव निकाल्ने काम भइरहेको छ ।
कम्तिमा ३५० जनालाई चट्टोग्राम मेडिकल कलेज अस्पताल (सीएमसीएच) मा भर्ना गरिएको छ, चट्टोग्रामको स्वास्थ्य तथा सेवा विभागका प्रमुख इस्ताकुल इस्लामले भने।