Logo

उत्कृष्ट वातावरण पुरस्कार पत्रकार केसीलाई



काठमाडौं, २२ जेठ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सबैको साथ ,सहयोग र सुझावको आधारमा सञ्चार विद्येयक ल्याउने बताएका छन् । वातावरण दिवसका अवसरमा पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले लुम्बिनीको सञ्चार विद्येयकले सबै सञ्चारमाध्यामलाई सम्बोधन गर्ने दावी गरेका हुन् ।

उनले मानिसका कारण संसारमै वातावरणमा समस्या आएको टिप्पणी गरे । वातावरण संरक्षणका लागि पत्रकारहरुले कलम चलाउनुपर्ने बताउंदै वातावरण सम्बन्धी नागकिरलाई मिडियाबाट सचेत गराउनुपर्नेमा जोड दिए । मन्त्री शर्माले वातावरणीय पत्रकारिता पुरस्कार स्थापनाका लागि पहल गर्ने पत्रकारहरुलाई आश्वासन दिए ।

वातावरण पत्रकारिता पुरस्कार स्थापना कर्ता अग्रज पत्रकार नारायण सापकोटाले वातावरणको क्षेत्रमा पत्रकारहरुका कलम नै प्रभावकारी हुने बताए ।कार्यक्रममा संविधानसभा सदस्य तथा पत्रकार महासंघ् रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडी, बालकृष्ण चापागाई, पत्रकार माधव ढुंगनालगायतले बोल्दै वातावरणको संरक्षण हुने गरी पत्रकारिता क्षेत्रलाई फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

वातावरण दिवसको अवसरमा पत्रकार महासंघ रुपन्देहीमा स्थापना गरिएको वातावरणीय पत्रकारिता पुरस्कारबाट पत्रकार तेजेन्द्र केसीलाई सम्मान गरिएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष समेत रहेका पत्रकार केसीलाई नगद २५ हजारसहित सम्मान गरिएको हो । पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।



प्रतिक्रिया दिनुहोस्