काठमाडौं, २२ जेठ । अछाममा मृत अवस्थामा भेटिएका स्थानीय बलबहादुर शाहीको छोरा विनोद शाहीको शव पोस्टमार्टम गर्न सहमति भएको छ ।
घटना अनुसन्धान गर्न प्रहरीको टोली पुगेसँगै शव पोस्टमार्टम गर्न सहमति भएको हो । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानको जंगलमा १६ वर्षीय शाही मृत अवस्थामा भेटिएका थिए ।
शाही हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थल पुगेको छ । कञ्चनपुरमा निर्मला पन्त हत्या अनुसन्धानमा खटाइएका डिएसपी मनोहर भट्टले टोलीको नेतृत्व गरेका छन् । शव घटनास्थलबाट निकालेर पोस्टमार्टम गर्न स्थानीय अहिले सहमत भएको स्रोतले जनाएको छ । र, प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।
मृतक विनोदको मोवाइल बाटोमा भेटिएको छ भने उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कक्षा १० मा अध्ययनरत शाही जेठ १७ गतेदेखि बेपत्ता भएका थिए ।