काठमाडौं, २२ जेठ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। उनीहरुलाई फिर्ता बोलाएसँगै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पनि सिफारिश गरेको छ । तर, सरकारबाट फिर्ता बोलाएकोबारे स्वास्थ्यमन्त्री विरोध खतिवडाले आपत्ति जनाएका छन् ।
उनले पार्टीले मन्त्री फिर्ता बोलाउनेबारे गरेको निर्णय आफूलाई कुनै जानकारी नआएको बताए । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा मन्त्री खतिवडाले भने–‘म त सरकारमै छु, सरकारबाट फिर्ता बोलाएको भन्ने समाचार बाहिर आएको देखें, तर यो बजेटको बेलामा दुनियाँको कुनैपनि देशमा यस्तो निर्णय हुँदैन् ।’
उनी यसअघि पार्टी कार्यालयसमेत पुगेका थिए । उनीसँगै पर्यटनमन्त्री प्रेम आलेपनि पार्टी कार्यालय पुगेका थिए ।
पार्टीले सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईसकेको छ । अहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङ भने फूल मन्त्री बन्नेछन् । त्यस्तै, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् । अहिले पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छन् । उनले पार्टीले सिफारिश गरेअनुसार नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाउन लागेका हुन् ।