Logo

नेपाली कांग्रेसका भोटर कम्युनिस्ट-क्याडर जस्ता होइनन्, चित्त बुझेन भने पार्टीकै उम्मेदवारलाई पनि भोट हाल्दैनन्ः डा. शेखर कोइराला



काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचन जितेको जस लिने हो भने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले २०७४ को तीनै तह निर्वाचनको अपजस पनि लिनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. कोइरालाले भने, “स्थानीय तहमा गठबन्धनबाट सिटको संख्यामा हामीलाई फाइदै भएको छ । गठबन्धन गर्दाखेरि ४० प्रतिशत र गठबन्धन नभएको ठाउँमा ६० प्रतिशत जितेको रिपोर्ट आएको छ । यसको जस सभापतिजी र तमाम कार्यकर्तालाई जान्छ । तर गठबन्धन गरेर नेपाली कांग्रेस पहिलो दल हुँदा उहाँलाई जस दिनुपर्ने हो भने २०७४ को निर्वाचनमा हारेको अपजस पनि लिनुपर्‍यो नि ।”
डा. कोइरालाले स्थानीय तहमा गठबन्धन गर्दा पार्टीको पहिचान गुमेको चिन्ता प्रकट गरे । उनले भने, “हामीले गठबन्धन त गर्‍यौं। तर गठबन्धनले नेपाली कांग्रेसको पहिचान गुम्ने डर पनि देखिएको छ । यस पटक धेरै स्थानमा महिलाहरुलाई उपमेयर वा उपाध्यक्षको उम्मेदवारी दिन पाएनौं । गठबन्धन गर्दाखेरि तिक्तता पनि देखियो । वडासम्म मिलाउनै अप्ठ्यारो भयो । स्थानीय तहको निर्वाचन पार्टी प्रणालीबाट जान हुँदो रहनेछ । पार्टीले सपोर्ट गर्ने बेग्लै कुरा हो । घर, छिमेक, टोल विभाजित भएर जाँदो रहेछ ।”

“संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन”
आगामी संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन कायम हुने स्थिति रहेको उनले औंल्याए । डा. कोइरालाले भने, “केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठक बसेको छैन । निर्वाचनको समीक्षा पनि भएको छैन । गठबन्धनका लागि रामचन्द्र पौडेलको संयोजकत्वमा कार्यदल बनेको छ । त्यसले कुनै निर्णय गरेको छैन । स्थानीय तहमा गठबन्धन गरिसकेपछि अब त झन् गर्नुपर्ने हुन्छ । किनभने मिश्रित चुनावी प्रणालीका कारण कुनै पनि दलको स्पष्ट बहुमत आउँदैन । कि त चुनाव अघि गर्नुपर्छ कि चुनावपछि गर्ने हो । गठबन्धन नहुने स्थितिमा कांग्रेस एक्लै लड्न पनि सक्षम छ ।”
उनले स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने पार्टीको निर्णय पूर्ण पालना नभएको पनि बताए । डा. कोइरालाले भने, “नेपाली कांग्रेसको निर्णय अक्षरश पालना भएको भए अहिलेको स्थिति आउँदैनथयो । पार्टीले स्थानीय तहलाई आवश्यकता अनुसार छाडिदिने भन्यो । त्यो ठीक थियो । त्यसैले पार्टीले झापामा राप्रपासँग तालमेल गर्यो । रुकुम, रोल्पामा एमालेसँग गर्यो । तर सत्ता गठबन्धनको गठबन्धनभित्र मात्र गर्ने निर्णय गलत थियो । त्यसैले चुनावी नतिजा अझै राम्रो गर्न सकिएन ।”

“कांग्रेसले को-कोसित गुनासो गर्दै हिँड्ने ?”
माधव नेपाल र उपेन्द्र यादवले कांग्रेसले धोका दियो भन्न नमिल्ने पनि डा. कोइरालाको दाबी छ । उनले थपे, “कांग्रेसले धोका दियो भन्ने हो भने पोखरामा हामीले माधव नेपालको पार्टीको उम्मेदवारलाई मेयर जिताइदियौं । तर कांग्रेसको उपमेयरले हार्नुभयो । अब हामीले माधव नेपालको पार्टीले धोका दियो भन्दिने ? उहाँले बार्गेनिङका लागि भन्नुभएको हो । यसले हामीलाई केही फरक पर्दैन । विराटनगरमा १९ वडामध्ये उपेन्द्रजीको छोरालाई उहाँकै सातआठ वटा कोर वडाबाट नै भोट आएको छैन । ती वडाबाट उपमेयरको भोट सूर्यमा गयो ? त्यो किन भन्नुहुन्न ? जुन जुन ठाउँमा जितेको थियो, त्यो त्यो ठाउँ छाड्ने भन्ने गठबन्धनको नीति अनुसार कांग्रेसले किन उपमेयर पाएन ? जसपालाई डेपुटी मेयर दिनुपर्ने जरुरत के थियो ? उहाँले नेपाली कांग्रेसलाई दोष किन दिने ? गत निर्वाचनमा जसपाले मेयरमा उठाइएको साथी पार्टी छाडेर गएकाले हारेको होइन ? नेपाली कांग्रेसले पोखरामा हारेन ? काठमाडौंमा हारेन ? कांग्रेसले को-कोसित गुनासो गर्दै हिँड्ने ? राम्ररी समीक्षा गरौं न । हामी पहिलो चोटि गठबन्धनमा गएका थियौं । नेपाली कांग्रेसका भोटर कम्युनिस्ट-क्याडर जस्ता होइनन्, चित्त बुझेन भने पार्टीकै उम्मेदवारलाई पनि भोट हाल्दैनन् ।”
स्थानीय तहमा काठमाडौं, धरान, धनगढीको मत परिणामको सन्देश ग्रहण गर्न नसके राजनीतिक दलहरु अप्ठ्यारोमा पर्ने उनले औंल्याए । डा. कोइरालाले भने, “तिमीहरु स्रुध्रिएनौ भने परिस्थिति भिन्न हुन्छ, युवाहरुलाई अधिकतम अवसर देऊ भन्ने सन्देश बुझ्न सकिएन भने हामी अप्ठ्यारोमा पर्छौं ।”

“प्रदेश र संघमा पनि भागबन्डा खोज्दैनौं”

पार्टीभित्र आफूले भागबन्डा नखोजेको पनि डा. कोइरालाले प्रस्ट पारे । उनले थपे, “हामीले स्थानीय तहमा पनि भागबन्डा खोजेनौं । प्रदेश र संघमा पनि खोज्दैनौं । पार्टीमा जो खटिरहनुभएको छ, तीमध्ये जित्ने साथीहरुलाई टिकट दिनुपर्छ । यसबारे छलफल र बहस हुन्छ । हामीले व्यक्तिलाई बलियो बनाउने होइन, पार्टीलाई बलियो बनाउने हो । पार्टी बलियो भयो भने हामी पनि बलियो हुन्छौं ।”
वाम गठबन्धन भयो भने के होला भन्ने पत्रकार धमलाको प्रश्नमा कांग्रेस नेता डा. कोइरालाले भने, “यो प्रश्न त तपाईंले प्रचण्ड र माधवजीलाई सोध्नुपर्‍यो । उहाँहरु पहिले एउटै कम्युनिस्ट पार्टीमा हुनुहुन्थ्यो । नेतृत्वसँग तिक्तता भएर छाड्नुभो । राजनीति भनेको सम्भावनाको खेल हो । असम्भव केही पनि छैन ।”



प्रतिक्रिया दिनुहोस्