Logo

मन्त्री बनाउँदा माधव नेपालको प्रशंसा गर्नेहरु अहिले मन्त्रीबाट फिर्ता बोलाउँदा फायर



काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । तर, सरकारमा भएका ती मन्त्रीहरु भने पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् । उनीहरु पार्टीको नेतृत्वलाई चूनौति दिँदै अहिले सरकारबाट फिर्ता नहुने पक्षमा उभिएका छन् ।

आज विहानमात्रै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरुलाई नहटाउन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा पनि अहिले मन्त्रीहरु हेरफेर गर्ने पक्षमा देखिएका छैनन् । तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले भने तत्काल पार्टीले सिफारिश गरेबमोजिम मन्त्रीहरु हेरफेर नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी दिएका छन् ।

प्रधानमन्त्री देउवा पनि अहिले दबाबमा छन् । केही मन्त्रीले पार्टीको निर्णय आफूहरुले मान्ने भन्दै सरकारबाट फिर्ता हुन तयार रहेको प्रतिक्रिया दिएका थिए । तर, एक दिन नबित्दै उनीहरु तत्काल सरकारबाट नबाहिरिने पक्षमा पुगेका छन् । उनीहरु अध्यक्ष माधव नेपालसँग आक्रोशित छन् ।

आफूहरुसँग कुनै सल्लाह नै नगरिकन सरकारबाट फिर्ता बोलाउने निर्णय गरेकोमा उनीहरु नेतृत्वसँग असन्तुष्ट बनेका हुन् । मन्त्री बनाउँदा खुशी भएर अध्यक्ष नेपालको गुणगाण गर्नेहरु अहिले उनै नेपालसँग भने फायर बनेका छन् । उनीहरु उस्तै परे विद्रोह गर्नेसम्मको तयारीमा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्