Logo

जहाँ दलित एकताले ठूला दललाई घुँडा टेकायो



काठमाडौं, जेठ २४ । दलहरूले दलित मतादातालाई निर्वाचनमा अनेक प्रलोभन देखाएर आफ्नो स्वार्थ अनुकूल वर्षौंदेखि प्रयोग गरिरहेका छन् । विजयउत्सव होस् या शक्ति प्रदर्शन र राजनीतिक भेला सबै ठाउँ बाजा बजाउनेदेखि अनेक भूमिकामा दलित वर्गलाई प्रयोग गरिरहेका हुन्छन्, दलहरूले ।

स्थानीय तह निर्वाचन २०७९ मा पनि यसले निरन्तरता पायो । जुम्लामा दलित समुदायलाई मुख्य राजनीतिक दलले उपयोग मात्रै गरे, निर्वाचन परिणाम हलहालतमा आफ्नो पक्षमा पार्न प्रयासले निरन्तरता पायो । दलित मतादातालाई अनेक प्रलोभनमा पारी मत आकर्षित गर्ने परम्परा नै छ । दलित समुदायलाई मुख्य राजनीतिक दलले उपयोग मात्रै गरे ।

दलित समुदायका लागि दलित कोटाको वडा सदस्यबाहेक अन्य मुख्य भूमिकामा टिकट पाउनु, निर्वाचित हुनु भनेको ‘फलामको चिउरा चपाउनु’सरह छ । दलित मतादाता बढी भएको वडादेखि पालिकासम्म पनि उनीहरूलाई मुख्य भूमिकाबाट विमुख बनाइन्छ । हुन त राज्यले जातीय भेदभाव उन्मूलन घोषणा नगरेको होइन । तर, त्यसले समाजमा सार्थक रूप लिन सकेको छैन । एक प्रकारले अहिले पनि दलहरूले राजनीतिक हिंसा गरिरहेका छन्, दलित माथि ।

तर, जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ को दलित समुदाय २०७९ को स्थानीय निर्वाचनमा चुपचाप बसेन । अधिकार मागेर होइन, एकताको बलमा आफंै प्राप्त गर्नुपर्छ भन्ने उद्देश्यले दलित एकताको उद्घोष गरियो ।

‘पञ्चायत, बहुदलदेखि गणतान्त्रिक शासन व्यवस्थासम्म यहाँका शासक वर्गले जसलाई भन्यो उसलाई मतदान गर्नुपथ्र्यो, हजार हन्डर खाएपछि दलित एकताको जन्म भयो, यसपालि हाम्रै जित भयो ।’ स्थानीय युवा वीरबहादुर कामीले भने ।

दलित समुदायबाट स्वतन्त्र उम्मेदवार धनबहादुर कामीले २ सय ८८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रसेका मातृकाप्रसाद उपाध्यायले २ सय २० मत ल्याएका थिए । स्वतन्त्रको प्यानलनै विजयी भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot