Logo

“मन्त्रीहरू लोकसेवा पास गरेर आएका होइनन्, पार्टीलाई अनुहार फेर्ने अधिकार छ”



काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीष सुमनले दलीय व्यवस्थामा पार्टीलाई मन्त्रीको अनुहार फेर्ने अधिकार रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै जसपा नेता सुमनले भने, “दलीय व्यवस्थामा राजनीतिक दलहरुले सरकारमा रहेका प्रतिनिधि फेर्न सक्छन् । दलहरुलाई अनुहार फेर्ने अधिकार छ । नेकपा (एस) ले मन्त्री फेर्ने कुरा ल्यायो । तर हाम्रो पार्टीमा यसबारे चियोचर्चा नै सुरु भएको छैन । हामी कसैको देखासिकी गर्दैनौं । तर निकट भविष्यमा भविष्यमा फेरिन सक्छ । मन्त्रीहरु लोकसेवा पास गरेर आएका त होइनन् नि ।”
चुनावी सरकारले मन्त्री फेरिरहनु उपयुक्त हुन्छ र भन्ने पत्रकार धमलाको प्रश्नमा सुमनले भने, “चुनावको मिति घोषणा भइसकेको छैन । अहिले नै चुनावी सरकार नभनिहालौं । हाम्रो पार्टीका मन्त्रीहरुले पार्टी अनुशासनमै रहेर काम गरिरहनुभएको छ । अहिले बजेट सेसन चलिरहेको छ, सांसदहरुले उठाएका प्रश्नको संसदमा जवाफ दिनुपर्छ । मन्त्री फेरबदलमा पार्टी अध्यक्ष उपेन्द्र यादवको चाहना पनि महत्त्वपूर्ण हो तर पार्टीको संस्थागत निर्णयले अर्थ राख्छ ।”
जसपा कमजोर नभएको तर गठबन्धन नतोडिने पनि उनले बताए । सुमनले भने, “गठबन्धन समयको माग हो । राष्ट्रपतिलाई हातमा लिएर केपी ओलीले सनकी र आततायी काम गर्न थालेपछि सडकबाट गठबन्धन उब्जिएको हो । हामीले एकअर्कालाई विश्वास गरेर गठबन्धन बनाएका हौं । अझै पनि मधेसको एक नम्बर पार्टी जसपा हो । मुलुकको चौथो र वैकल्पिक पार्टी हो । यसको शक्तिमा कतै कुनै ह्रास आएको छैन । जसपा हिमाल, पहाडमा पनि छ । कमजोर भयो, अर्को चुनाव जान सक्दैन भन्ने बिलकुल सत्य होइन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot