Logo

म्याग्दी जिससको निर्वाचन असार ५ मा



काठमाडौँ,२४ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगामी असार ५ गते हुने भएको छ । जिल्ला सभाको निर्णयानुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो दिन निर्वाचन गर्ने गरी समयतालिका सार्वजानिक गरेको हो ।

जिल्लामा जिससको प्रमुख उपप्रमुखसहित नौ सदस्यीय समितिका लागि निर्वाचन हुने भएको हो । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जेठ २३ गते मतदाता नामावली प्रकाशन गर्ने, २४ गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, २५ गते संशोधित मतदाताको नामावली प्रकाशन गर्ने, २६ गते मतदाताको विरोधमा उजुरी दिने, २७ गते उजुरीउपर जाँचबुझ गर्ने र २८ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् ।

यसैगरी असार १ गते उम्मेदवारको मनोनयन दर्तासँगै उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका रहेको छ । २ गते उम्मेदवारउपर उजुरी, सोही दिन जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसँगै उम्मेदारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

छ स्थानीय तह रहेको जिल्लामा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको सङ्ख्याअनुसार जिससमा नेकपा (एमाले)को बहुमत देखिएको छ । निर्वाचन कार्यविधिअनुसार छ स्थानीय तहका प्रमुख र उपप्रमुखले जिल्ला समन्वय समिति निर्वाचनको मतदाता गर्नेछन् । जिल्ला समन्वय समितिका लागि १२ मतमध्ये सात मत एमालेको रहेको छ भने गठबन्धनतर्फ कांग्रेसको तीन मत र माओवादी केन्द्रको दुई मत रहेको छ ।

जिसस प्रमुखका लागि एमालेतर्फबाट पार्टीका जिल्ला सहसचिव एवं बेनी नगरपालिका वडा नं १ वडा सदस्यमा निर्वाचित राजकुमार थापालाई बनाउने निर्णय गरेको छ ।

मुस्ताङमा निर्विरोध

यसैबीच मुस्ताङमा भने जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा ९एमाले० र राप्रपाको एकल उम्मेदवारी परेपछि प्रमुख र उपप्रमुखसहित एमालेका छ सदस्य र राप्रपाका एक सदस्य निर्विरोध भएका छन् ।

जिसस निर्वाचनका लागि सोमबार बिहान १० बजेदेखि २ सम्म उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेकामा एमाले र राप्रपाको मात्र एकल उम्मेदवारी परेकाले उनीहरु स्वतः निर्विरोध निर्वाचित भएको जनाइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्