काठमाडौं, २४ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दियामा बाघको आक्रमणपछि आन्दोलित नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बर्दिया घटनाको विषयमा स्पष्टीकरण दिँदै मन्त्री खाँणले नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको बताएका हुन् । उनले बर्दिया घटनाको दोषीलाई कारबाही गर्ने पनि प्रतिबद्धता जाहेर गरेका छन् ।
आजको बैठकमा सांसदहरुले घटनाको बारेमा उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले भने, ‘गोली प्रहार गर्ने आदेश नै छैन् । सम्झाई बुझाई कम भन्दा कम शक्ति प्रयोग गर्ने भनेका छौ ।’ उनले बर्दियाका सिडियोले गोली हान्ने आदेश नदिएको जिकिर गरे ।
सोमबार स्थानीय र प्रहरीबीच झडप हुँदा २० वर्षीया नविना थारुको मृत्यु भएको घटनालाई लिएर प्रदर्शन भईरहेको छ । खेतमा काम गर्न गएकी अस्मिता थारुलाई सोमबार बाघले झम्टेर घाइते बनाएको थियो । हाल उनको नेपालगन्जमा उपचार भइरहेको छ। बाघलाई नियन्त्रणमा लिन माग गर्दै स्थानीयहरु प्रदर्शनमा उत्रेपछि विवाद हुँदा झडप भएको थियो ।
प्रहरीले अनावश्यक बल प्रयोग गरेर भिडलाई नियन्त्रण गर्न ११ राउन्ड हवाई फायर समेत गरेको थियो । प्रहरी र स्थानीयबीच झडपको क्रममा गोली लागेर थारुको मृत्यु भएको स्थानीयहरुले दाबी गरीररहेका छन् ।
शवको पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने प्रशासनले बताइरहेको छ ।
यो पनि पढ्नुहोस
नविना थारु मृत्यु प्रकरण : घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन