Logo

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासको लगत सङ्कलन सुरु



काठमाडौँ,२४ जेठ । गोरखाका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम सुरु भएको छ । यसअघि लगत सङ्कलनमा छुटेकाका लागि जिल्लाको बारपाक सुलिकोट गाउँपालिका र सहिद लखन गाउँपालिकाले पुनःलगत सङ्कलनका लागि निवदेन लिने कार्यको थालनी गरेको आयोगका जिल्ला अध्यक्ष कमला नहर्कीले जानकारी दिइन् ।

“स्थानीय तहको निर्वाचनका कारण गएको वैशाख ९ गतेदेखि यी दुई पालिकामा लगत सङ्कलनको काम रोकिएको थियो”, उनले भनिन्, “रोकिएको काम पुनः सोमबारेदेखि सुरु गरिएको छ ।’’ बारपाक सुलिकोट गाउँपालिका र सहिद लखन गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि रोकिएको लगत सङ्कलनको कामलाई निरन्तरता दिएको उनले बताइन् । उनका अनुसार तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगमा परेका निवेदनबाहेक छुटपुट भएकाको लागि आयोगले दोस्रो पटक सूचना प्रकाशन गरेर निवदेन आह्वान गरेको हो । आयोगले सुकुम्वासी, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुका लागि फरक–फरक फारमको ब्यबस्था गरेको छ ।

आयोगले उपलब्ध गराएको फरक फरक ढाँचाको फारम सहितको विवरण भरेर वडा कार्यालयले संकलन गरी स्थानीय पालिकामा पठाउनेछ । पालिकाले निवेदन प्रमाणित गरी आयोगमा पठाउने व्यवस्था रहेको अध्यक्ष नहर्कीले जानकारी दिइन् । यसका लागि कर्मचारी व्यवस्थापनको काम सम्बन्धित पालिकाले गर्दै आएको उनको भनाइ छ । स्थानीय तहले त्यो सूची प्रमाणित गरेर पठाएपछि आयोगले नापी कार्यालय सँगको समन्वयमा जग्गा नाप गरी प्रमाणीकरणको काम गर्ने अध्यक्ष नहर्कीले जानकारी दिइन् । रासस



प्रतिक्रिया दिनुहोस्