काठमाडौं, जेठ २५ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति भइसकेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री लोसपालाई पनि सत्ता गठबन्धनमा समेट्न चाहनुहुन्छ, यो उहाँको स्थानीय तह निर्वाचन अघिदेखिकै चाहना हो, अहिले पनि त्यसमा प्रयास भइरहेको छ, दुई मन्त्री र एक राज्यमन्त्री लोसपालाई दिनेगरी उच्च तहमा छलफल भइरहेको छ,’ स्रोतले बताएको छ ।
प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा उद्योग वाणिज्य तथा आपूर्तिमध्ये एक मन्त्रालय फुटाएर लोसपालाई सरकारमा ल्याउने योजना बनाएका हुन् । हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व माओवादी केन्द्रको र उद्योग, वाणिज्य तथा आपूर्ति कांग्रेसको भागमा छ ।
यस्तै, सरकारमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई पनि सरकारबाट बाहिर राख्ने योजना देउवाको छ । सो स्थानमा लोसपाकै नेतालाई राज्यमन्त्री बनाउने तयारी छ । यसैगरी, हाल खाली रहेको रक्षा मन्त्रालयमा सरकारमा रहेका आफ्नै दलका मन्त्रीलाई हेरफेर गरेर रिक्त हुने मन्त्रालयमा लोसपालाई ल्याउने योजनासमेत देउवाको छ ।
यसरी रिक्त हुने दुई मन्त्रालयमा लोसपालाई ल्याउने विषयमा प्रधानमन्त्री देउवाले सो दलका अध्यक्ष ठाकुरसँग संवाद गरिरहेका छन् ।
लोसपाले भने पहिले विगतदेखि नै आफ्नो दलले सरकारसँग राखेका मागका विषयमा प्रस्ट हुन सरकारलाई दबाब दिएको छ । राजधानी दैनिकबाट