Logo

कांग्रेस सहमहामन्त्रीको प्रश्नः “पार्टीमा दुई-चार जनाबाहेक अरु मन्त्री बन्न लायकै छैनन् त ?”



काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेले मन्त्रीमण्डलमा बारम्बार एकैथरी अनुहार दोहोरिइरहे पनि कसैले काम देखाउन नसकेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता आङदम्बेले भने, “मन्त्रीमण्डल गठन वा पुनर्गठन गर्दा एउटै अनुहारलाई बारम्बार स्थान दिने गरिएको छ । घरी एउटा मन्त्रालय दिने, घरी अर्को मन्त्रालयमा पठाउने । तर काम केही भएको छैन । पर्फमेन्स पनि नदेखाउने अनि बारम्बार दोहोरिने ठीक होइन ।”
चुनावी सरकारले मन्त्री फेरिरहँदा समस्या आउँदैन भन्ने पत्रकार धमलाको प्रश्नमा आङदम्बेले थपे, “अहिले गठबन्धनको सरकार छ । तपाईंले भनेजस्तै बारम्बार मन्त्रीहरु चलाइरहँदा जनतामा नकारात्मक सन्देश जाला वा नयाँ अनुहार लिएर जाँदा सबथोक परिवर्तन पनि नहोला । तर पार्टीभित्र दुईचार जनाबाहेक अरु मन्त्री बन्न लायक कोही छैन जस्तो हुन पनि हुँदैन । त्यसैले सरकारमा नयाँ सोच र नयाँ अनुहारको आवश्यकता छ । यसबारे हामी केन्द्रीय कार्यसमितिमा छलफल गर्छौं ।”
स्थानीय तह निर्वाचनमा गठबन्धनले समग्रमा सकारात्मक परिणाम दिएकाले संघ र प्रदेशमा पनि त्यसले निरन्तरता पाउने कांग्रेस सहमहामन्त्री आङदम्बेले बताए । उनले भने, “समग्रमा गठबन्धनले राम्रै परिणाम दिएको छ । यसको मूल उद्देश्य संविधानको रक्षा र लोकतान्त्रिक मूल्य र मान्यतालाई संरक्षण गर्नु हो । त्यसैले एकअर्काकामा विश्वास मजबुत बनाएर जानुपर्छ । हामीलाई पनि लागेको छ, स्थानीय तहमा गठबन्धन गरेर जाँदा मसिनो ढंगले काम हुन सकेन कि ? घनीभूत छलफल हुन सकेन कि ?”
अब वाम र लोकतान्त्रिक पक्षधर मिलेर जानुको विकल्प नभएको पनि उनले औंल्याए । आङदम्बेले भने, “अहिले नै वामपन्थी र लोकतान्त्रिक शक्तिबीच कित्ताकाट गर्नुपर्ने देखिएको छैन । आफूलाई लोकतान्त्रिक ठान्नेले पनि फाइदाका लागि गलत पात्र र प्रवृत्तिलाई साथ दिएका उदाहरण छन् । अहिले बनेको गठबन्धन लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि भएको हो । त्यसैले हामी गठबन्धनलाई थप सशक्त र विश्वसनीय बनाएर सहकार्यमा अघि बढ्छौं ।”

 



प्रतिक्रिया दिनुहोस्