Logo

मन्त्री बन्न नपाए क कस्ले सांसद पदको माया मारेर विद्रोह गर्लान्



काठमाडौं, २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भाग्यले फेरि प्रधानमन्त्री बनायो । बहुमत रहेका कम्युनिस्टहरुभित्रको विभाजनले देउवाको भाग्योदय भयो । नत्र यो प्रतिनिधि सभाको कार्यकालमा देउवा प्रधानमन्त्री बन्ने थिएनन् भने नेपाली काँग्रेसबाट कोही पनि मन्त्री बन्ने अवस्था थिएन ।
कम्युनिस्ट विभाजनले मन्त्री बन्ने सम्भावना नभएकाको पनि भाग्योदय भयो । विरोध खतिवडा, किसान श्रेष्ठ र रामकुमारी झाँक्रीको पनि भाग्य बल्यो । तीनैजना पहिलोपटक मन्त्री बने । खतिवडा त मकवानपुरबाट पटक पटक सांसद जित्दा पनि मन्त्री बन्न पाएका थिएनन् । किसान श्रेष्ठ रामचन्द्र पौडेललाई हराएर मन्त्री बनेका हुन् । उनका लागि फेरि फेरि मौका आउने सम्भावना कमै थियो ।

जसपाबाट भने रेणु यादव र महेन्द्र राय यादव विगतमा पनि मन्त्री बनेकाहरु नै हुन् । रामसहाय यादवले भने वनमन्त्री बन्ने मौका पाए ।
माओवादीबाट जर्नादन शर्मालाई आकर्षक मानिएको अर्थ मन्त्रालय नै मिल्यो । पम्फा भुषाललाई ऊर्जा मिल्यो ।

काँग्रेसबाट दिलेन्द्र बडुले आपूर्तिमा मौका पाए । उनलाई देउवाकै गृह प्रदेश सुदूरपश्चिमको हुनुको लाभ मिल्यो । तर, उनी रामचन्द्र पौडेलको समूहबाट मन्त्री बन्न पाएका थिए । बालकृष्ण खाँडलाई गृहमा जाने मौका मिल्यो ।

यसरी धेरैले मौका पाउनुमा कम्युनिस्ट विभाजन नै कारण हो । तर, यसै वर्ष संसदको निर्वाचन हुने भएकाले कतिपय सांसदलाई मन्त्री बन्ने आतुरता छ ।

अहिले मन्त्री बनेमा पाउने अन्यथा नपाउने अवस्था भएकाले पनि नेकपा एस र जसपामा धेरैलाई मन्त्री बन्ने आतुरता छ । नेकपा एसले त मन्त्रीको नाम सिफारिश गरेरै पठाएको छ । हाललाई त्यो थाती राखिएको छ । तर, गैरसांसदको समेत मन्त्रीमा नाम पठाएको भन्दै माधव नेपालसँग केही सांसद असन्तुष्ट बनेका छन् । धनबहादुर बुढाले मन्त्री बन्ने निकै आशा राखेका थिए । उनी प्रत्यक्ष निर्वाचित सांसद हुन् । मन्त्रीबाट हट्नुपरे प्रेमबहादुर आले र किसान श्रेष्ठ पनि चुप लाग्ने स्थिति छैन । बरु सांसद पद गए जाओस् भनेर विद्रोह गर्ने सम्मको तयारीमा कतिपय नेकपा एसका सांसद तयारी अवस्थामै थिए ।

सबैभन्दा समस्या जनता समाजवादी पार्टीभित्र छ । सांसद प्रदीप यादवले पार्टीमा ६–६ महिना मन्त्री बनाउने भद्र सहमतिको कुरा उठाएका छन् । अमृता अग्रहरी, प्रदीप यादव, प्रमोद साह, मोहम्मद इश्तियाक राई, डा सुरेन्द्र यादवलगायत मन्त्रीका आकांक्षी छन् । उनीहरु मन्त्री नपाए ठूलै विद्रोहको तयारीमा छन् । बरु चार पाँच महिनाको सांसद पद छाड्ने तर विद्रोहबाट पछि नहट्ने सम्मको धम्की दिइसकेका छन् ।

माओवादी केन्द्रमा पनि मन्त्रिमण्डल हेरफेरको दबाब छ । अध्यक्ष प्रचण्डमाथि यसको दबाब बढिरहेको छ । त्यसै पनि कम्युनिस्ट एकता वा तालमेल भनेर वर्षमान पुनलगायतले दबाब बढाइरहेका छन् । मन्त्री फेरबदल नगरे विद्रोह सम्मको अवस्था आउने देखिएको छ ।

नेपाली काँग्रेसभित्र पनि मन्त्री बन्ने आकांक्षी धेरै छन् । यो प्रतिनिधि सभाको कार्यकालमा बन्न नपाए अवसर नआउने भन्दै एकाथरी सासदहरुले दबाब बढाइरहेका छन् । त्यसले देउवामाथि दबाब बढ्न थालेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्