Logo

प्रदीप पौडेल भन्छन् : फोहोरलाई अर्थोपार्जन र समृद्धिसँग जोड्ने पहल गरौं



काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौंको फोहर व्यावस्थापनमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बुधबार नेता पौडेलले फाहोरले पार्ने वातावरणीय प्रभावको असरबाट कोही पनि मुक्त हुन नसक्ने भन्दै महानगरको फोहोरको समस्या सबैको साझा समस्या भएको बताएका हुन् ।

पौडेलले स्थानीयवासीसँग भएका सम्झौताहरु पालना गर्न र उनीहरुको माग र समस्याहरुको समाधान गर्न पनि आग्रह गरेका छन् । ‘फोहर व्यावस्थापनमा जसले जहाँबाट जति सकिन्छ सहयोग गरौं। फोहरको प्रकृति हेरेर वर्गिकरण गरौं। यो हाम्रा लागि हामीले गर्नुपर्ने काम हो’, उनले भनेका छन्, ‘त्यसैगरि, फोहर व्यावस्थापन स्थलका स्थानीयहरुको माग र समस्याहरुको समाधान गरौं, उहाँहरूसँगका सम्झौताहरु पालना गरौं।’

नेता पौडेलले फोहोर माथिको राजनीति र अर्थशास्त्र पनि उत्तिकै डरलाग्दो रहेको ठहर गर्दै विविध आयामहरुको अध्ययनबाट फोहोरलाई अर्थोपार्जन र सम्वृद्धिसँग पनि जोड्ने पहल गर्न सुझाएका छन् ।

‘उदाहरणको लागि प्लास्टिकको प्रयोग विभिन्न उपायले गर्न सकिएला, कुहिने वस्तुहरुलाई मल र उर्जामा रुपान्तरण गर्न सकिएला, धातु र कागज लगायतका वस्तुलाई पुनर्उपयोग गर्न सकिएला’, उनले भनेका छन्, ‘फोहर भित्रका यी सकारात्मक पक्ष तथा यसको दीर्घकालिन समाधानका विषयमा काठमाडौं महानगर तथा सहरी विकास मन्त्रालय दुवै सकरात्मक देखिएका छन् । हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेको खण्डमा अवश्य नै यो अभियानले सार्थकता पनि पाउनेछ ।’

 



प्रतिक्रिया दिनुहोस्