Logo

अन्याय, अत्याचार र भ्रष्टचारविरुद्ध संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाले जेठ २७ गते भृकुटीमण्डपमा बृहत विरोध र्याली गर्ने



‘नेपाली जनता गणतन्त्रलाई पशुपति आर्यघाटमा सेलाउन चाहन्छन्’ : लुईँटेल

काठमाडौं, २५ जेठ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध बृहत विरोध र्याली गर्ने घोषणा गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै आगामी जेठ २७ गते ११ः३० बजे भृकुटीमण्डपमा विरोध र्याली सुरु गरेर वसन्तपुरमा कोणसभा गरी समापन गर्ने जानकारी दिइएको हो ।

मोर्चाले राष्ट्रघात, भ्रष्टाचार, दण्डहिनता, विकृति, विसंगतिविरुद्धको कार्यक्रममा ऐक्यवद्धता जनाउन सम्पुर्ण देशवासीलाई आग्रह गरेको छ । मोर्चाले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता खारेज, निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न, अखण्ड नेपाल कायम गर्न माग अघि बढाएको छ ।

यसैगरी, संयुक्त मोर्चाले राजसंस्थासहितको धर्मसापेक्ष वैदिक सनातन हिन्दु अधिराज्य नेपाल स्थापना, भारत र चीनसँगको सुमधुर सम्बन्ध कायम राख्दै असंलग्न परराष्ट्र नीतिअनुसार दुवै देशसँग दौत्य सम्बन्ध कायम राख्न माग गरेको छ ।

मोर्चाले लिपुलेक, लिम्पियाधुरामा जनगणना र स्थानीय चुनाव नगरेकोमा पनि आपत्ति जनाएको छ । र, यसको जवाफ जनतालाई दिनुपर्नेसमेत माग अघि सारेको छ । यस्तै, मोार्चाले लिपुलेक, कालापानीसहितको नयाँ नक्शा अविलम्ब पाठ्यक्रममा समावेश गर्न पनि माग गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका सह–अध्यक्ष विष्णुप्रसाद भट्टराइले स्थानीय निकायको निर्वाचन सकिँदै गर्दा राजनीतिक दलहरुले एकले अर्कालाई धाँधली गरेको भनेर आरोप लगाएको सुन्दा हाँसो उठेको सुनाए । राजा वीरेन्द्रको वंश विनास भएको दिन जेठ १९ गते नेपालगञ्जमा शालिक राख्न नदिएर अपमान गरेको भन्दै भट्टराईले त्यस घटनामा पनि आपक्ति जनाए । उनले गणतान्त्रिक मुलुकमा राजालाई छैटौं सुचिमा राखेको भन्दै दुःख व्यक्त गरे ।

पछिल्लो समय चर्चामा रहेको इम्बोस्र्ड नम्बर प्लेटको बारेमा बोल्दै उनले नेपालको संविधानको धारा ७ ले कामकाजको भाषा देवनागरी लिपिमा हुनुपर्छ भनेर लेखेको स्मरण गराए । उनले भने,‘त्यो इम्बोस्ड भाषामा कतै नेपाली भाषा देख्नुहुन्छ ? कसले चलाएको छ ? संविधानले तय गरेको कामकाजको भाषा नेपाली हो, अनि सरकारले नै सबै इङ्लिसमा लेख्यो भने कारवाही गर्ला, कसले गर्ने कारवाही ?’ भ्रष्टाचारको विरुद्ध जनतालाई सचेत गराउनुपर्ने उनले बताए ।

पछिल्लो समय बलात्कारको मुद्दा पनि धेरै उठेका भन्दै उनले महिला बलात्कारी नै सरकारमा बसेको आरोप लगाए । उनले भने,‘महिला बलात्कारी नै सरकारमा बसेको छ, त्यही बलात्कारीले बनाएको कानुन तपाईँहरुले मान्नुपर्छ ।’

उनले ९४ प्रतिशत नेपाली जनता हिन्दुत्वमा विश्वास गर्ने पनि ठोकुवा गरे । बलात्कारको मुद्दामा हदम्यादको विषय हटाएमा धेरै जना कारबाहीमा पर्ने उनले जिकिर गरे । उनले भने,‘माओवादीलगायत कति पार्टीका मानिसहरु समानुपातिकको नाममा क–कसले कति गैरकानुनी सम्बन्ध राखेका छन्, ती सबै बलात्कारी भएर कारवाहीमा पर्लान की सिंहदरवारमा बसेर मन्त्री होलान त ? यसै कारणले गर्दा अपराधीको साम्राज्य हो । यसबारेमा पनि जनतालाई सुचित गर्नुपर्छ ।’

९४ प्रतिशत नेपालमा हिन्दु भएको उल्लेख गर्दै गत स्थानीय तहमा धर्मनिरपेक्ष भन्नेहरुले पनि धर्म निरपेक्षवादीलाई गणतन्त्रमा भोट हालेको उनले सुनाए । नेपालको राष्ट्रिय अखण्डता जोगाउन विरोध प्रदर्शनको आयोजना गरिएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी भ्रमणमा गएको प्रसंगमा बोल्दै भट्टराईले भने, ‘पापीलाई देवताले कस्तो दण्ड देलान भन्नुहोस त ।’ गणतन्त्रलाई उनले ‘बलियाले खाने र कमजोरले हेर्ने’ व्यवस्थाको संज्ञा दिए । माओवादीले आफ्नै परिवारका दिदि बहिनीहरुलाई क्यान्टोन्टमेन्टमा लगेर बलात्कार गरेको र तीनीहरु नै आज सरकारमा रहेको पनि आरोप लगाए । उनले सबैलाई जेठ २७ गते विरोध सभामा उपस्थित हुन पनि आग्रह गरे । अन्याय, अत्याचार र भ्रष्टचारविरुद्ध मोर्चा लागिपरेको बताए ।

त्यस्तै, कार्यक्रममा संयोजक नव पन्तले आगामी २७ गते भृकुटीमण्डपबाट र्याली सुरु गरेर वसन्तपुरमा कोण सभा गरेर समापन गर्ने बताए । उनले झाँकीसहितको भव्य र्यालीमा सबैलाई सहभागि हुन आग्रह गरे । उनले गणतन्त्रको अन्त्य नेपाली जनताले चाहेको पनि बताए । देशमा खराब कुराको मात्र व्याख्या भएको भन्दै असल कुरा ब्यानर न्युज बन्नुपर्ने धारणा राखे ।

यसैगरी, मोर्चाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद लुइँटेलले नेपाली जनताको अवस्था निकै दयनीय भएको बताए । देशमा भएका उद्योग/धन्दाहरु कमिशनको चक्करमा मासिएपछि आज युवाहरु विदेशीन बाध्य भएको उनले टिप्पणी गरे । २०४७ साल अघि कुनैपनि नेपाली जनता विदेशिन नपरेको यर्थाथ सुनाए ।

मितेरी पार्टी नेपालका महासचिव खेमराज अधिकारीले आगामी जेठ २७ गते हुने विरोध कार्यक्रम एउटा कार्यक्रममात्र नभएर अस्तित्वको लडाईँ भएको दाबी गरे । उनले हिजोको दिनमा कम्युनिष्टहरुले महिला दिदी÷बहिनीहरुको टुप्पी काटिदिएको र ईज्जत लुटेकाहरुलाई आज तीनै जनताले भोट हालेकोमा आपत्ति जनाए ।

त्यस्तै, मितेरी पार्टी नेपालका अध्यक्ष तथा मोर्चाका उपाध्यक्ष खगेन्द्र बस्नेतले अन्याय, अत्यचार, भ्रष्टाचार र महंगी र देशघाती जनघाती राष्ट्रघाती सरकारको विरुद्ध सबै स्वाभिमानी नेपालीहरुको शीर उच्च गर्न विरोध गर्न आन्दोलन गर्न लागेको बताए । उनले उपत्यकाका सबैलाई विरोध र्यालीमा सहभागी हुन् आह्वान गरे।

यसैगरी, मोर्चाका राष्ट्रिय संयोजक शोभराम थापाले मोर्चा केही दिन चुप बसेको उल्लेख गर्दै एमसीसी सरकारका मतियारले मुलुक नै एमसीसीमय बनाउनसक्ने भन्दै फेरी जुर्मुराउन थालेको सुनाए ।

त्यस्तै, मोर्चाका राष्ट्रिय संयोजक शेखरजंग रायमाझीले देशमा अहिले रोजगारी पाउन र हातमुख जोड्न युवाहरु विदेश जान बाध्य भएको उल्लेख गरे । गणतन्त्रलाई उनले ‘जनता दरिद्र हुने र राष्ट्र कंगाल हुने व्यवस्थाको’ संज्ञा दिए ।

कार्यक्रमको समापन गर्दै मोर्चाका अध्यक्ष तारानाथ लुईँटेलले पछिल्लो समय बलात्कारको घट्ना बढेको सुनाए । उनले भने,‘एउटी महिलालाई सुरक्षा सरकारले दिन सक्दैन् । सरकारले बलात्कारका घटनाको जिम्मा लिनुपर्छ ।’ सरकारलाई कायरको संज्ञा दिँदै उनले भने,‘यस्तो कायर सरकार नेपाली जनतालाई चाहिँदैन । अब जनताले गणतन्त्रलाई पशुपति आर्यघाटमा सेलाउन चाहन्छन् । अब चाडैनै जनताले दाहसंस्कार गर्नुपर्छ ।’ त्यसको लागि बृहत प्रदर्शनको आयोजना गरिएको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot