Logo

जसपा विभाजनको संघारमा



काठमाडौं, जेठ २७ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेसँगै सत्तारूढ अन्य दलमा समेत मन्त्री हेरफेरको दबाब बढेको छ ।

एकीकृत समाजवादीको मन्त्री हेरफेर निर्णयसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल (जसपा)मा समेत मन्त्री हेरफेर हुनुपर्ने विषयले प्रवेश पाएको छ । एकीकृत समाजवादीको निर्णयले माओवादी केन्द्र र जसपामा तरंग पैदा भएको छ । जसपा मन्त्री हेरफेरका साथै अन्य कारणले विभाजन हुने खतरासमेत देखिएको छ ।

२२ जेठमा एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेको थियो । सरकारमा रहेका पार्टीका नेतालाई फिर्ता बोलाएर नयाँलाई मन्त्रीको शपथ गराउन एकीकृत समाजवादीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । तर, सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले संसद्बाट बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषद् हेरफेर गर्ने आन्तरिक सहमति ग¥यो ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री फेर्न पार्टीभित्र आवाज उठिरहेको बताए । पुनले भने, ‘समाजवादीका साथीहरूले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । कांग्रेसमा पनि दबाब छ । जसपामा पनि दबाब छ । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्ने खालका आवाज उठिरहेका छन् ।’

एकीकृत समाजवादीले प्रधानमन्त्री देउवालाई गत आइतबार नै मन्त्री हुनेको नामावली बुझाइसकेको छ । जसअनुसार जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय भएको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको छ ।

एकीकृत समाजवादीले पर्यटनमन्त्री प्रेमबहादुर आले, स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

जसपामा समेत मन्त्री हेरफेर विषयले विवाद भइरहेको छ । मन्त्री हेरफेरका साथै अन्य विषयले जसपा विभाजननजिक पुगेको छ । मन्त्री हेरफेर, स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयले जसपाभित्र विवाद सुरु भएको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्