काठमाडौं, २७ जेठ । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणदेखि इम्बोस्ड नम्बर प्लटे प्रकरणसम्म नाम मुछिएका विकल पौडेलले आफूले कुनै गल्ती नगरी काम गर्दापनि विभिन्न प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै चित्त दुखाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पौडेलले इम्बोस्ड नम्बर, एमआरपी छपाइ, सुरक्षण मुद्रण लगायतका बिषयमा आफूलाई अनावश्यक रुपमा मुछिएको स्पष्ट पारे ।
कार्यक्रमको सुरुवातमै पत्रकार धमलाले इम्बोस्ड नम्बर प्लेटको काममा तपाईँको प्रवेश किन र कसरी भयो ? भन्ने प्रश्न गरे । उनले आफू कम्युटर ईन्जिनियर भएकोले सोहीअनुसार यो काममा सहभागिता रहेको सुनाए । उनले मिडियामा आएजस्तो आफू भ्रष्टाचारमा संलग्न नरहेको जिकिर गरे ।
उनले इम्बोस्ड नम्बरका बिषयमा आफूले डिजाइन मात्र गरेको र सार्वजनिक ऐन बमोजिम नै यातायात व्यवस्था विभागले प्रक्रिया अघि बढाएको स्पष्ट पारे । उनले टेन्डर गर्दा चार वटा कम्पनीले भाग लिएको र तीमध्ये सबैभन्दा सस्तोलाई जिम्मा दिईएको बताए । यो प्रकरणमा सम्मानित अदालतले पनि फैसला दिईसकेको उनको भनाई छ । इम्बोस्ड नम्बर प्लेट प्रकरणमा आफ्नो भूमिका नरहेको उनको जिकिर थियो ।
उनले चार अर्बको योजनामा चार अर्ब नै भ्रष्टाचार भएको भन्नु हाँस्यस्पद रहेको बताए । उनले यो प्रकरणमा कुनै भ्रष्टाचार नभएको जिकिर गरे । उनले इम्बोस्ड नम्बर प्लेटको विषयमा नेपाली गाडी बंगलादेश, भुटान जाने भएकोले नम्बर प्लेट अँग्रेजीमा राखिएको स्पष्ट पारे । त्यस्तै, उनले एमआरपी पासपोर्टमा काम गरेको र अहिलेको इ पासपोर्टमा कुनै सहभागिता नरहेको बताए । पौडेलले एमआरपी पासपोर्ट अघि बढाउँदा पनि निकै सस्तोमा नेपाल भित्र्याइएको बताए ।